सहयोगी दातालाई सम्मान र विद्यार्थीलाई छात्रबृती तथा पुरस्कार वितरण

849 Shares

सर्लाहीको बागमती नगरपालिका २ मा रहेको श्री जनवाल कल्याण माद्यामिक बिद्यालय धरहराले दाता सम्मान तथा छात्रबृती वितरण गरेको छ । बागमती नगरपालिका २ स्थित रहेको जनवाल कल्याण मावि धरहराले एक कार्यक्रमको आयोजना गरि दाता सम्मान तथा छात्रवृति वितरण गरेको प्रधानाध्यापक प्रकाश बहादुर जिम्वाले जानकारी दिए ।
 उनका अनुसार सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा(क)का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यता तथा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको विशेष अतिथ्यतामा सदन पोषाक तथा अन्य व्यवस्थापनमा सहयोग गर्ने ५३ जना सहयोगी दाताहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।
सोही कार्यक्रमका विच रुद्रदिप स्मृती छात्रबृती वितरण तथा एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरु सम्मान समेत गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टंक बोहोराले जानकारी दिए । उनका अनुसार विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक सहभागिता तथा सहयोग संकलन अभियान संचालन गरेको थियो । 
विद्यालय व्यवस्थापन समितिको अगुवाईमा ५३ जना दाताहरुबाट रु छ लाख ८३ हजार सात सय ६९ रुपैया संकलन भएको विद्यालयको लेखा शाखाले जनाएको छ । त्यस मध्य विद्यालयले रु चार लाख ८७ हजार पाँच सयमा छात्रछात्राहरुको लागि सदन पोषाक खरिद गरिएको र रु २९ हजारमा विद्यालयको बाल कक्षा व्यवस्थापन खर्च गरेको उल्लेख गरेको छ ।
यस्तै संकलित रकमबाट बाँकी रु एक लाख ६७ हजार दुई सय ३९ विद्यालयको खातामा रहेको छ । खरिद गरिएको विद्यालयको सदन पोषाक छात्रछात्राहरुलाई निःशुल्क वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
यस्तै विद्यालयले शिक्षक शिक्षिकालाई सम्मान तथा सात जना शिक्षक शिक्षिकाहरुलाई विदाई समेत गरेको छ । विद्यालयले गत शैक्षिक सत्रमा एसईईमा उत्कृष्ठ नतिजा ल्याउन सफल एक छात्रलाई पुरस्कार स्वारुप साईकल वितरण गरेको छ भने, विद्यालयका उत्कृष्ठ छात्रा स्मृती बोहरा र छात्र रितेश धनुकीलाई रुद्रदीप स्मृती अक्षयकोष पुरस्कारबाट पुरस्कृत गरिएको प्रधानाध्यापक जिम्वाले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य कुशवाह,बागमती नगरपालिकाका नगर प्रमुख थापा, उप प्रमुख लिला कुमारी मोक्तान,बागमती नगरपालिका २ का वडा अध्यक्ष टेक बहादुर बल,वडा नम्बर ३ का वडा अध्यक्ष तिलक मोक्तान,बागमती नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्याय,शिक्षा अभियन्ता अभिषेक घिमिरे, शिक्षा शाखा संयोजक राज कुमार बिश्वकर्मा र सहयोगी दाता डा.उमेश दहाल लगाएतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार