सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जङ्गफुड निरुत्साहित गर्न सामुदायिक विद्यालयहरुमा टिफिन बक्स वितरण सुरु गरिएको छ । विद्यालयमा जङ्गफुड निरुत्साहित गरी बालबालिकाहरुलाई घरमा तयार गरिएको खाजा खानेबानीको विकास गरी विद्यार्थीहरुको पोषण,स्वास्थ्य र शिक्षण सिकाई सुधारको लागि टिफिन बक्स वितरण सुरु गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले बताए ।
बिस्कुट,डढेको तेलमा पाकेका खानेकुरा,चाउचाउ लगायत बाहिरको खानेकुराले विद्यार्थीहरुको स्वास्थ्य समस्या देखिने गरेको हुँदा घरको ताजा खाना,खाजा ल्याउनलाई टिफिन बक्स वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष महतोले बताए ।उनका अनुसार चन्द्रनगर गाउँपालिकाको आर्थिक सहयोगमा एक विद्यार्थी एक टिफिन बक्स वितरण सुरु गरिएको हो । चन्द्रनगर गाउँपालिकाका सामुदायीक विद्यालयहरुका कक्षा ६ देखि १२ कक्षा सम्मका एक हजार छ सय विद्यार्थीहरुलाई टिफिन बक्स वितरण गर्ने लक्ष्य राखिएको गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताईन् ।
उनका अनुसार बाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालयमा नै दिवा खाजाको व्यवस्था हुने भएकोले कक्षा ६ देखि १२ सम्मका विर्थीहरुलाई मात्रै टिफिन बक्स वितरण सुरु गरिएको हो ।हाल सम्ममा चन्द्रनगर गाउँपालिका २ स्थित रहेको दुर्गा खोभारी जन्ता माविमा अध्यनरत करिव छ सय ७५ जना विद्यार्थीहरु र चन्द्रनगर गाउँपालिका १ स्थित रहेको जनता माविमा करिव दुई सय २५ विद्यार्थीहरुलाई टिफिन बक्स वितरण भईरहेको चन्द्रनगर गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।
त्यसैगरी,चन्द्रनगर गाउँपालिका ६ स्थित रहेको मरिचमान माविमा करिव चार सय १७ जना विद्यार्थीहरुलाई टिफिन बक्स वितरण भएको चन्द्रनगर गाउँपालिका शिक्षा शाखाका देनकुमार महतोले बताए ।हाल सम्म चन्द्रनगरका तीन वटा माविमा अध्यायनरत विद्यार्थीहरुलाई टिफिन बक्स वितरण भई सकेको छ भने चन्द्रनगर गाउँपालिका ३ स्थित रहेको राम जन्ता आधारभुत विद्यालय बडकुर्वा र चन्द्रनगर गाउँपालिका ५ स्थित रहेको अरनीको जनता आधारभुत विद्यालय मोहनपुरमा टिफिन बक्स वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

विद्यार्थीहरुलाई टिफिन बक्स नहँुदा टिफिन समयमा छात्रछात्राहरू घरमा खाजा खान गएपछि पुन विद्यालयमा नआउने तथा जङ्गफुडका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या सृजना गर्ने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले टिफिन बक्स वितरण गरेको भन्दै अभिभावकहरु खुसी भएका छन् ।