पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा ३० हजार भन्दा बढी रुख काटिने,तीन लाख भन्दा बढी रुख रोपिने

एसपि गौरव    प्रकाशित: २०८०-५-२० गते   ४८४ पटक हेरिएको

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मधेश प्रदेशको पश्चीममा बाराको पथलैयादेखि पुर्वमा सिरहा सम्म चार लेनको सडक निर्माणको काम सुरु हुने भएको छ । विं.स. २०२१ सालमा तत्कालीन सोभियत संघको सहयोगमा निर्माण भएको दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई अहिले विश्व बैङ्कको लगानीमा स्तर वृद्धि गरेर चार लेनको बनाउने काम सुरु हुने भएको हो ।
विश्व बैङ्कले दिन लागेको रु ८८ अर्ब ऋण सहयोगबाट दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई चार लेनको सडक निर्माण गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत एक सय ३० किलो मिटर सडकलाई पथलैया–ढल्के र ढल्के–कमला गरी दुई प्याकेजमा गरेर अहिले सडकको ठेक्का लगाउने काम हुन लागेको पथलैया–ढल्के–कमला सडक योजना प्रमुख दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार पथलैया–ढल्के–कमला सडक योजना अन्तर्गत निर्माण हुने एक सय ३० किलो मिटर सडक जङ्गल क्षेत्रमा २७ मिटर चौडाइ र सहरी क्षेत्रमा ५० मिटरको चौडाइ रहने छ ।
सडक विभाग,वैदेशिक सहायता कार्यान्वयन महाशाखाले पथलैया,निजगढ,चन्द्रनिगाहपुर लगायतका सात स्थानमा सार्वजनिक सुनुवाइ गरेर स्थानीयबाट राय,सुझाव समेत लिने काम गरेको पथलैया–ढल्के–कमला सडक योजना प्रमुख पाण्डेले बताए ।बस्ती र सहरी क्षेत्रमा ५० मिटर लिइने जग्गामा चार लेनको सडकसँगै नाला,सडक पेटीसहित साइकल लेनसमेत निर्माण गर्ने गरी ठेक्का लगाउने तयारी भई रहेको र अन्य स्थानहरूमा सडकको दुबैतर्फ सडक निर्माण गरिने आयोजनाले जनाएको छ ।
एउटा लेन ३ दशमलव ५ मिटरको हुने र सडकको दुवै छेउमा रुख बिरुवा र फूल रोपिने र दायाँबायाँ साढे दुई मिटरको अतिरिक्त पिच गर्ने डिपिआरमा उल्लेख छ । सडकमा गुड्दै गरेको सवारी बिग्रिए त्यसलाई पार्किङ गर्न सक्ने व्यवस्था समेत गरिने आयोजना प्रमुख पाण्डेले बताए ।
यस सडक खण्डमा रहेको बागमती र कमला नदीको पुलबाहेक साना ठूला गरेर ७२ वटा पुलहरू पनि निर्माण हुनेछन् । साइकल लेन र फुटपाथ छोपिने गरी नाला रहने उक्त सडकको सव बेस २० सेन्टिमिटर र माथिल्लो फिनिसिङ लेबल १४ सेन्टिमिटर रहने डिपिआरमा उल्लेख छ । हाल सञ्चालनमा रहेको कज वे लच्का हटाइने र आवश्यक स्थानमा बक्स कल्भर्ट निर्माण गर्ने तथा सडक क्षेत्राधिकार क्लियर गर्ने काम पहिलो चरणमा हुने आयोजनाले जनाएको छ ।
पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेकाले सडकबाट वारपार गर्ने जङ्गली जनावरका लागि ‘एनिमल पास पुल’ पनि निर्माण गर्ने योजना सडक विभागको रहेको छ । विद्युत्,पानी,नेटवर्कको पाइप लाइन र वातावरण संरक्षणको विविध पक्षमा अध्ययन गरी डिजाइन तयार गरिएको आयोजनाका प्राविधिकहरुको भनाई छ । सडक सीमाभित्रको संरचना हटाउने,रुख कटान गर्ने,पोल सार्ने,कजवे बनाउने लगायतका काम सडक विभागले पहिलो चरणमा अगाडि बढाउने जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि कमला खोलासम्मको एक सय ३० मिटर लामो दुई लेनको सडकलाई स्तर वृद्धि गरेर चार लेनको बनाउन ठेक्का लगाउने तयारी भएको सडक विभाग वैदेशिक सहायता महाशाखाका एसडिई वन्दना आचार्यले बताइन् । उनका अनुसार विश्व बैङ्कको ऋण सहयोगमा सडकलाई चार लेन बनाउन लागिएको हो । करिब ३० हजार आठ सय ७१ साना ठूला रुख कटान गर्ने,प्रति रुख दश वटाका दरले तीन लाख आठ हजार दुई सय ७० वटा बिरुवा रोपिने विभागले जनाएको छ ।
चार लेन सडकको रूपमा विकास गर्न लागिएको यस राजमार्गमा लामो तथा छोटो दुरीका गरि दैनिक हजारौँ सङ्ख्यामा सवारी साधन आवतजावत हुने गर्छन् । करिब ६० वर्ष पहिला निर्माण गरिएको पूर्व–पश्चिम राजमार्ग सवारी साधनको चापले साँघुरो बन्दै गएपछि र सवारी दुर्घटनाको कारणले ठूलो सङ्ख्यामा बर्सेनि भइरहेको मानवीय क्षतिमा कमी ल्याउन चार लेनको सडक बनाउन वर्षौँदेखि विज्ञहरूले सुझाव दिँदै आएका थिए । जस अनुसार अहिले राजमार्ग निर्माणका लागि ठेक्का लगाउने तयारी भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech