साना तथा मझौला व्यवसायी उद्यमीहरूलाई हरसम्भव उत्प्रेरित तथा सहयोग गर्न सरकार तत्पर छ – आपूर्ति मन्त्री रिजाल 

399 Shares

ललितपुर । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्यमीहरूलाई हरसम्भव उत्प्रेरित तथा सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् । बुधबार साना तथा मझौला व्यवसायी महासंघ, नेपालले महिलाहरुको महान पर्व तिजको अवसर पारेर ललितपुरमा आयोजना गरेको ५ दिने महिला उद्यमी मेलाको उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री रिजालले उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धि तर्फ जाने धारणा राखे । उनले उद्यमीहरुलाई सहयोग गर्नु पहिलो कर्तव्य भएको बताए ।  

‘नयाँ योजना र विचारका साथ मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्नेमा सरकार प्रतिवद्ध छ । उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धि तर्फ जान्छ भन्ने कुरामा हामी विश्वस्त छौं। सरकार उद्यमीलाई हरसम्भव सहयोग गर्न तत्पर छ । हामीहरू तपाईंहरुबाटै निर्वाचित भएका हौ । हामी तपाईंहरुको प्रगतिका साथसाथै समृद्धिको पक्षमा छौं ।ू मन्त्री रिजालले भने । 

त्यस्तै, हस्तकला महसंघका पूर्व अध्यक्ष तथा ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ धर्मरत्न शाक्यले महिलाहरुले उत्पादन गरेका हरेक उत्पादनलाई स्थानीय तथा विश्व बजारमा पुर्‍याउने गरि नीति निर्माण गर्न सरकारलाई आग्रह गरे । 

मेलामा सातदोबाटोस्थित उद्यमी घरका ५ वटा स्टलहरु समेत रहेको उद्यमी घरका सञ्चालक दिपक कार्कीले जानकारी दिए । 

साना तथा मझौला व्यवसायी महासंघ, नेपालको आयोजनामा बुधबारबाट सुरु भएको मेला ५ दिनसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार