सर्लाहीको मलंगवा नगरपालिका ६ साक्षर वडा घोषणा भएको छ । मलंगवा नगरपालिकाले अभियान नै बनाएर साक्षर घोषणा गर्ने काम सुरु गरेपछि मलंगवा नगरपालिका ६ खुटौना साक्षर वडा घोषणा भएको हो । मलंगवा नगरपालिका ६ ले शुक्रबार एक कार्यक्रमको आयोजना गरि वडालाई साक्षर वडा घोषणा गरेको मलंगवा नगरपालिका ६ का वडाध्यक्ष राम कैलाश रायले जानकारी दिए ।उनका अनुसार शिक्षा मन्त्रालयअन्तर्गतको अनौपचारीक सिकाइ केन्द्रले निर्धारण गरेको साक्षरका १२ सूचकलाई आधार मानी साक्षर वडा घोषणा गरिएको हो ।
अनौपचारिक सिकाई केन्द्रले राष्ट्र भाषा वा मातृभाषाका वर्ण÷अक्षर पढ्न र लेख्न, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्न, आफ्नो र परिवारका सदस्यको नाम, उमेर सम्बन्धी पढ्न, मोबाइल र क्यालकुलेटरका अंक तथा अक्षर चिनेर प्रयोग गर्न, शून्यदेखि नौसम्मका अंक अक्षरमा लेख्न, एकदेखि सयसम्म गणना, लेनदेनका हिसाब राख्न, सरल चित्र पोस्टर साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरि तिथिमिति बताउन र बैंक भौचर भर्न र चेकको प्रयोग गर्नसक्ने गरी १२ सूचक उल्लेख गरेको र त्यसमध्य कुनै छ सूचकमा पर्ने नागरिकलाई साक्षर घोषणा गर्न सकिने जनाएको छ।
नेपाल सरकारले दुई वर्ष पहिला नै देशलाई ‘साक्षर देश’ घोषणा गर्ने उद्घघोष गरे पनि सो पूरा हुन नसकिरहेको अवस्थामा मलंगवा नगरपालिका ६ साक्षर वडा घोषणा गर्न सफल भएको मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बताए । साक्षर वडा घोषणा कार्यक्रममा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादव,प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम,शिक्षा विकास तथा समन्वय ईकाइ सर्लाहीका प्रमुख अशोक रौनियार लगायत वडाका जनप्रतिनिहरु र स्थानीयबासीको उपस्थिति रहेको थियो ।