सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १४ करोड भन्दा बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा रु १४ करोड ३९ लाख ६१ हजार छ सय ५० बराबरको तरकारी निकासी गरेको समितिका व्यवस्थापक शम्भु प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार आव २०८०/०८१ को पहिलो महिना साउनमा दुई करोड ८९ लाख नौ हजार छ सय किलो तरकारीबाट रु १४ करोड ३९ लाख ६१ हजार छ सय ५० बराबरको तरकारी निकास भएको हो ।
जिल्लाको लालबन्दी,हरिवन,हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानहरुले उत्पादन गरेका गोलभेँडा,परबल,बोडी,सिमी,भन्टा,करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए ।
उनका अनुसार सिन्धुली,रामेछाप,काठमाडौँ,पोखरा,बुटवल,भैरहवा,नारायणघाट,नेपालगञ्ज, हेटौँडा,वीरगञ्ज,गौर,जनकपुर,सिरहा,विराटनगर,इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ ।
संघिय सरकार अन्र्तगत रहेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीबाट टमाटर,भन्टा,बोडी,लौका,करेला,काँक्रो,फूलकोभी,बन्दा कोभी,घिरौँला,सिमी,झिङ्गनी,मूला,हरियो खुर्सानी,बेथुको साग,गाँजर,भिन्डी,परबल,रुख कटहर,फर्सी,धनियाँको पात,कागती,मटरकोसा,प्याज र भेँडेखुर्सानीलगायतका तरकारी निकासी हुने गरेको समितिले जनाएको छ ।