सर्लाहीमा सदरमुकाम मलंगवामा शनिबार साँझबाट १५ घण्टे कफ्र्यु घोषणा

गणेश खड्का    प्रकाशित: २०८०-५-२३ गते   ३२२ पटक हेरिएको

सर्लाहीको मलंगवामा १५ घण्टे कफ्र्यु घोषणा भएको छ । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार साँझ हिन्दु र मुस्लिम समुदाय विच विवाद भई झडप भएपछि शनिबार साँझ ५ बजेदेखि आईतबार बिहान ८ बजे सम्म १५ घण्टा कफ्र्यु जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।उनका अनुसार शुक्रबार साँँझको घटनाको विषयमा शनिबार दिनभर दुवै पक्ष र स्थानीय भद्रभलाद्मीहरु बसेर छलफल गरी शान्ती सद्भाव कायम राख्न पहल भएको भएपनि सहमती नजुटी थप हिँसा भड्कीएपछि शनिबार साँझ ५ बजेदेखि आईतबार बिहान ८ बजे सम्म १५ घण्टा कर्फ्यु जारी गरिएको हो ।
मलंगवा नगरपालिकाको पूर्वमा झिम नदी–पश्चिममा मुसैली नहर–दक्षिणमा नेपाल भरत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी पेट्रोल पम्पसम्म कफ्र्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । कर्फ्यु जारी गरिएको क्षेत्रमा आवतजावत गर्न,भेला हुन,बाहिर हिँडडुल गर्न र उशृङ्खल क्रियाकलाप गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु आदेश जारी गरिएको उनको भनाई छ। सुरक्षा संवेदनशीलता हेरेर कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबिच झडप र ढुंगामुढा भएपछि प्रहरीले भीड तितर वितर पार्न १६ सेल अश्रुग्याँस र एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
शुक्रबार रातीबाट अवस्था सामान्य भएपनि शनिबार बिहानैबाट सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो। तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech