हृदयघात भैहाले हृदयघात हुन नदिन के गर्ने, के नगर्ने ?

पत्र पत्रिका    प्रकाशित: २०८०-५-२७ गते   ३२८ पटक हेरिएको

यदि कसैलाई हृदयघात हुन्छ भने उसलाई केही समयअघिदेखि संकेत देखा परेको हुन्छ । जस्तै, छाती भारी हुने वा दुख्ने, शरीरमा चिट्चिट् पसिना आउने, धड्कन बढ्ने, आत्तिने, कहिलेकाहीं दुखाइ हाततिर तथा घाँटीतिर सर्दै जाने हु्न्छ । तर यदि मानिस बेहोस छ भने माथिका लक्षण थियो कि थिएन थाहा छैन भनेर त्यसलाई यत्तिकै हेरेर हृदयघात भएको हो कि होइन भन्न सकिंदैन ।

प्रायजसो महिला, मधुमेह र वृद्धवृद्धामा यस्ता लक्षण नदेखाइकन नै अचानक हृदयघात हुने सम्भावना बढी हुन्छ । उनीहरुलाई कसैलाई पसिना मात्र आउने, घाँटी समातिएको जस्तो हुने, छाती पोले जस्तो हुने, असजिलो महसुस हुने तर कतै पनि दुखाइको महसुस नहुने जस्ता लक्षण देखा पर्छ । यी लक्षण ग्यास्ट्रिकसँग मिल्दोजुल्दो भएका कारण यसलाई बिरामीले बेवास्ता गरेका हुन्छन् । यी लक्षणलाई बेवास्ता गर्दा पछि अचानक हृदयघात भएर बिरामीको मृत्यु हुन सक्छ ।

छाती भारी हुने वा दुख्ने, चिट्चिट् पसिना आउने, धड्कन बढ्ने, आत्तिने, कहिलेकाहीं दुखाइ हाततिर तथा घाँटीतिर सर्दै जाने, छिटोछिटो हिड्दा र भर्‍याङ मात्र चढ्दा पनि स्वाँस्वाँ आउने, भारी सामान उचाल्दा असजिलो महसुस हुने, छाती पोल्ने समस्या हृदयघात हुनुअघि देखिने लक्षण हुन् । यस्तो लक्षण हप्ता दिन वा एक-दुई महिनाअघिदेखि देखिन सक्छ । तर धेरैले यसलाई बेवास्ता गरिरहेका हुन्छन् ।

हृदयघात भएमा प्राथमिक उपचार के गर्ने ?

हृदयघात भएमा पहिलो उपचार भनेको बिरामीलाई सकेसम्म चाँडै अस्पताल पुर्‍याउनु हो । अर्को भनेको एस्प्रिन ३०० एमजी भन्ने औषधि खान सकिन्छ । यो औषधि दीर्घरोग भएकाहरुले बोकेर हिंड्नु उचित हुन्छ । किनकि हृदयघातलगत्तै यो औषधि खुवाउन सकेमा बिरामी राहत मिल्छ । त्यसपछि तुरुन्तै नजिकैको अस्पताल पुर्‍याएर ईसीजी गराइहाल्नुपर्छ ।

हृदयघात भएको व्यक्तिलाई कस्तो ठाउँमा राख्ने, के–के गर्ने ?

हृदयघात भएको व्यक्तिलाई पहिलो होहल्ला नहुने ठाउँमा लगेर राख्नुपर्छ । त्यस्तै यदि बिरामी घरमै छ भने हावा आउने कोठामा बिरामीलाई सिधा पारेर सुताउन सकिन्छ । साथै शरीरमा टाइट लुगाकपडा लगाएको भए फुकालिदिनुपर्छ । त्यस्तै बिरामीलाई आराम गराउनुपर्छ ।

हृदयघात हुँदा के गर्नै हुँदैन ?

हृदयघात भएको अवस्थामा बिरामीलाई हिंड्न र कुद्न लगाउनु हुँदैन । बिरामीलाई गाडीसम्म छिटोछिटो हिडौं भनेर दौडाउनु हुँदैन । बिरामी र बिरामीसँगै भएको व्यक्ति आत्तिनु हुँदैन । यस्तो गरेमा बिरामीको मुटुको चाल गडबडी भई घटनास्थलमै मृत्यु हुने जोखिम उच्च हुन्छ ।

हृदयघात भइहालेमा कुनै औषधि खुवाउन मिल्छ ?

हृदयघात हुने लक्षण देखा परेमा एस्प्रिन भन्ने औषधि चपाएर खान सकिन्छ । अन्य औषधि खुवाउन मिल्दैन । तर बिरामी बेहोस छ भने कुनै पनि खुवाउन मिल्दैन ।

हृदयघात हुने कारण

प्रायजसो लामो समयसम्म उच्च रक्तचाप, मधुमेहको सुगर लेबल नियन्त्रण नभएमा, मधुमेहको औषधि छुटाएका बिरामी, शरीरमा खराब कोलेस्टेरोल बढेमा (एलएडी), शारीरिक व्यायामको कमी, असन्तुलित खानपान, जंकफुड धेरै सेवन, धुम्रपान र मद्यपान धेरै गर्ने व्यक्तिमा हृदयघात हुने जोखिम बढी हुन्छ । परिवारमा कसैलाई हृदयघात भएको छ भने अरुलाई पनि हृदयघातको जोखिम हुन सक्छ ।यस्ता बिरामीले समय-समयमा ब्लड प्रेसर, मधुमेहको उपचार गराइराख्नुपर्छ । जसले हृदयघात हुनुबाट जोगाउन मद्दत गर्छ ।

हृदयघात कस्तो व्यक्तिलाई हुन सक्छ ?

प्रायजसो दीर्घरोग भएका व्यक्तिमा अचानक हृदयघात हुने जोखिम बढी हुन्छ । जस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता दीर्घरोग भएकाले व्यक्तिलाई हुने सम्भावना बढी हुन्छ ।

हृदयघात हुँदा के–के जटिलता हुन्छ ?

हृदयघात हुँदा मुटुमा रगत जाने रक्तनली बन्द भएर मुटु फुट्न सक्ने सम्भावना हुन्छ । समयमा उपचार नभए बिरामीको मृत्युसमेत हुन सक्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech