सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येक जसो नीजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोको उपचारका लागि बिरामी बढ्न थालेका छन् । निरन्तर एक साता पानी परेर मौसममा परिवर्तन आएपछि जिल्लाभर नै भाइरल ज्वरोको सङ्क्रमण तीव्र रुपमा फैलिएको प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.नवलकिशोर झाले जानकारी दिए ।
हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल भिबर (सरुवा ज्वरो) को सङ्क्रमण देखिएको लालबन्दी मोडल हस्पिटलका प्रमुख डा.आलोक कुमार कुशवाहले जानकारी दिए । उनका अनुसार त्यस्ता बिरामीमा घाँटी दुख्ने,कमजोरी महसुस हुने,उच्च ज्वरो आउने जस्ता लक्षण देखिने गरेको छ ।
जिल्लाको लालबन्दी,नवलपुर,हरिवन,बागमतीलगायत स्थानका नीजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरोको सङ्क्रमण भएका बिरामी उपचारका लागि पुग्ने गरेका लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए । उनका अनुसार अन्य ठाउँको तुलनामा लालबन्दी,नवलपुर र हरिवनका नीजि स्वास्थ्य संस्थाहरुका साथै सरकारी स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका बिरामीको चाप बढी देखिएको छ ।
जिल्लाभर डेङ्गु सङ्क्रमित पनि बढी रहेका छन् भने भाइरल भिबरको विवरण आउन बाँकी रहेको प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.झाले बताए । उनका अनुसार जिल्लाभर डेङ्गुका ६१ जना सङ्क्रमित रहेका छन् ।
डेङ्गु तथा भाइरल ज्वरोबाट बच्न घर वरपर लामखुट्टे बस्न नपाउने गरी सरसफाई गर्न,सङ्क्रमित भएका व्यक्ति अन्य व्यक्तिसँग सम्पर्कमा नराखी टाढै बसेर आराम गर्न,पोसिलो खानेकुरा प्रशस्त खान,चर्को घाम लागेको बेला सकेसम्म घरभित्रै बस्न र स्वास्थ्य सावधानीका अन्य उपाय अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।