सिन्धुलीको पालिका हुलाक कार्यालय,फिक्कल मातहतको अतिरिक्त हुलाक कार्यालय, रत्नावतीमा कार्यरत पत्र वितरकका विषयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आएका समाचार प्रति जिल्ला हुलाक कार्यालय सिन्धुलीको ध्यानाकर्षण भएको छ ।पालिका हुलाक कार्यालय,फिक्कल मतहतको अतिरिक्त हुलाक कार्यालय, रत्नावतीमा कार्यरत पत्र वितरक चन्द्र बहादुर पाख्रीन तामाङ पछिल्लो समयमा राजनीतिक गतिविधिमा संग्लग्न रहेका भन्दै विभिन्न सञ्चार माध्यामहरुका साथै सामाजिक सञ्जालहरुमा विभिन्न किसिमका सामाग्रीहरु प्रकाशन प्रसारण भएपछि जिल्ला हुलाक कार्यालय सिन्धुलीले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
जिल्ला हुलाक कार्यालय सिन्धुलीमा कार्यरत ना.सु. वेदराज काफ्लेको संयोजकत्वमा खरिदार दिनेश दाहाल र खरिदार चिनकला राई सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले जानकारी दिए ।उनका अनुसार पालिका हुलाक कार्यालय,फिक्कल मतहतको अतिरिक्त हुलाक कार्यालय, रत्नावतीमा कार्यरत पत्र वितरक चन्द्र बहादुर नेपालको प्रचलित कानुन तथा कर्मचारी आचारसंहिता विपरीत कुनै राजनीतिक दलको सदस्यता लिएको एवं सक्रिय राजनीतिक गतिविधिमा लागे÷नलागेको सवालमा छानविन गरि पाँच दिन भित्र जिल्ला हुलाक कार्यालयमा प्रतिवेदन बुझाउन समिति गठन गरिएको हो ।
चन्द्र बहादुर नेपाली काँग्रेस सिन्धुलीको जिल्ला सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक संलग्नता बारे प्रश्न उठेको थियो । सामाजिक सञ्जालहरुमा प्रकाशन गरिएका तस्बीरहरुमा चन्द्र बहादुरले काँग्रेसको वडा अधिवेशनमा समेत सहभागिता जनाएको देखिएको छ ।सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरमा उनी रातो टीका लगाएर अधिवेशनस्थलमा सहभागी भएको देखिन्छ।उनले उक्त तस्बिर आफैंले फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।सरकारी सेवामा रहेका कर्मचारी राजनीतिक दलको पदाधिकारी वा सक्रिय सदस्य बन्न नपाउने स्पष्ट कानुनी व्यवस्था रहे पनि चन्द्र बहादुरको उम्मेदवारी घोषणाले कर्मचारीको राजनीतिक संलग्नतामाथि बहस सुरु भएको छ ।
यता,सो सवालमा सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको तस्बिर आफुले नभई अरू कसैले तयार पारेर राखिदिएको बताए ।उनले वडा अधिवेशन आफ्नै घरमा भइरहेका बेला खाजा खान गएको समयमा मात्र तस्बिर खिचिएको बताएका छन् ।तर,चन्द्रबहादुरले काँग्रेसको वडा अधिवेशन आफ्नै घरमा आयोजना भएको र आफू उक्त कार्यक्रममा उपस्थित भएको कुरा स्वीकार गरेका छन्।उनले अतिरित्त हुलाक कार्यालय समेत आफ्नै घरमा सञ्चालन भइरहेको पनि बताएका छन्।साथै,उनले आफू २०६२ सालदेखि हुलाक सेवामा कार्यरत रहेको भए पनि काँग्रेसको सदस्यबाहेक अन्य कुनै पदमा नरहेको दाबी समेत गरे ।
नेपाल सरकारले सरकारी सेवामा रहेका कर्मचारीहरूलाई राजनीतिक दलको सदस्यता लिन, सक्रिय राजनीति गर्न वा दलको जिम्मेवारीमा बस्न नहुने भन्दै पटक–पटक निर्देशन जारी गर्दै आएको भएपनिविभिन्न क्षेत्रका कर्मचारीहरुको राजनीतिक उम्मेदवारी र अधिवेशनमा सहभागिताको विषयले सरकारी कर्मचारीको राजनीतिक गतिविधि सम्बन्धी आचारसंहिता कार्यान्वयनको अवस्था बारे पनि प्रश्न उठाएको छ।
सरकारी कर्मचारीले राजनीतिक गतिविधिमा संलग्न भएको पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही हुने व्यवस्था रहेको र सोही अनुसार आवश्यक छानविन गर्नका लागि समिति गठन गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका हुलाक अधिकृत कुमार थापाले बताए।उनले चन्द्रबहादुर राजनीतिमा जोडिएको घटनाले सरकारी सेवामा रहेका कर्मचारीहरुको राजनीतिक संलग्नता र प्रशासनिक निष्पक्षताबारे प्रश्न उठेपछि छानविन गरी राजनीतिक संग्लग्नता देखिए नियमानुसार कार्बाही गर्ने बताए ।