सर्लाहीको कविलासी नगरपालिकाका जनप्रतिनिधिहरुले सुविधा र इन्धनको दुरुपयोग गरी आर्थिक अनियमितता गरेका पाइएको छ।कविलासी नगरपालिकाका नगर प्रमुख ब्रम्हदेव राय र उपप्रमुख पुनम कर्णले नगरपालिकाबाट पाउने सेवा सुविधा र इन्धन खर्चमा कानुन उल्लंघन गरेका महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदन अनुसार नगर प्रमुख राय र उपप्रमुख कर्णले मासिक एक हजार पाँच सय लिटर इन्धन पाउने व्यवस्था भए पनि पनि नगर प्रमुख रायले सात हजार तीन सय ४० र उप प्रमुख कर्णले दुई हजार तीन सय ६१ लिटर इन्धन खर्च गरेर खर्चमा अनियमित गरेका महालेखाको ठहर छ।
महालेखाका अनुसार कु पाँच हजार दुई सय एक लिटर बढी इन्धन प्रयोग हुँदा रु आठ लाख ५८ हजार एक सय ६५ अतिरिक्त भुक्तानी गरेर कानुन उल्लंघन र पारदर्शिताको कमीको उदाहरणको रूपमा देखाएको छ।नियमानुसार,पदाधिकारीले यातायात भत्ता पाउँदा इन्धन भुक्तानी पाउन नहुने स्पष्ट व्यवस्था छ र कुनै हालतमा दोहोरो सुविधा दिन नपाइने उल्लेख छ ।तर कविलासी नगरपालिकाका जनप्रतिनिधिहरु र पदाधिकारीले यातायात भत्ता पाएको अवस्थामा पनि इन्धन भुक्तानी दिएको देखिएको छ।
जसबाट स्थानीय तहमा खर्च व्यवस्थापन र पारदर्शिता सुनिश्चित गर्न सुधारात्मक कदम चाल्नुपर्ने महालेखाले उल्लेख गरेको छ।यस्तो दोहोरो सुविधा र आफुखसी इन्धन भुक्तानीले जनताको विश्वासमा असर पुर्याउने भएकाले सार्वजनिक जानकारी,लेखापरीक्षण र निगरानी प्रणाली कडा गर्न आवश्यक रहेको जानकारहरु बताउँछन् ।