छिमेकी देश भारतमा कोरोना सङ्क्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमानाकामा सुरक्षा व्यावस्थामा थप कडाइ गरेको छ।नेपाल सरकारले सीमा सुरक्षा,सीमाबाट हुने अवैधानिक तथा गैरकानूनी क्रियाकलाप र आवतजावत रोक्न सशस्त्र प्रहरी बल नेपाललाई सीमा क्षेत्रको मुख्य जिम्मा दिएको छ ।सीमा क्षेत्रको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले अस्थायी सशस्त्र प्रहरी बेसक्याम्प,बोर्डर आउट पोष्ट(बिओपी) तथा ड्युटी पोष्टहरु बनाएर आफ्नो जिम्मेवारी पूरा गर्न शुरु गरेको छ ।
जिल्लाको भारतसँग सीमा जोडिएको ५१ किलोमिटर क्षेत्रको छ स्थानमा स्थायी बिओपी रहेकामा अहिले सात स्थानमा अस्थायी बिओपी थप गरेर १३ स्थानमा बिओपी पु¥याइएको सशस्त्र प्रहरीले जनाएको छ।चारदेखि १० जनासम्म ड्युटी गर्ने पोष्ट सय÷सय मिटरको फरकमा खडा गरिएका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको छ ।
भारतसँग सीमा जोडिएका ५१ किलोमिटर दूरीमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ।१६ बेसक्याम्प,८२ बोर्डर ड्युटी पोष्ट र १३ अस्थायी पोष्टका साथै बिओपी रहेका छन् ।एक सय १० देखि एक सय १२ पोष्टबाट करिब ८० देखि सय मिटरको दूरीमा पाँच सय सशस्त्र प्रहरीलाई ड्युटीमा खटाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हें.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए ।
भारतबाट अवैधरूपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी,ड्युटी पोष्ट र बेसक्याम्प स्थापना गरेर बसेका सशस्त्र प्रहरी अधिकांशको बास पालमुनि हुने गरेको छ । केही अस्थायी पोस्ट,बेसक्याम्प स्थानीयवासीका घरमा छन् भने केही बेसक्याम्प तथा अस्थायी ड्युटी पोष्ट स्थानीय सामुदायिक विद्यालयमा रहेका छन् भने अन्य अस्थायी पोस्ट बाँसका टहरा बनाएर त्रिपालको छानो हालेर बनाइएका छन् ।
दैनिकजसो आउने वर्षासँगै हावाहुरीका कारण सीमाको रक्षाका लागि खटेका सशस्त्र प्रहरी मारमा परेका छन्।खुला सिमाना भएका कारण कतिपय नेपालीको भारतमा र कतिपय भारतीयको जमिन नेपाल रहेका कारण पनि सीमाक्षेत्रमा सुरक्षा कडाइ गर्न समस्या हुने गरेको एक सशस्त्र प्रहरी अधिकृतले बताए ।
“थोत्रा त्रिपालमुनिको बसाइ करिब दुई महिना पुग्न लाग्यो।पिउने पानीको समस्या छ।रातमा बाल्ने बिजुली बत्ती छैन।खेतमा त्रिपालको टहरा र बाँसको टहरा बनाएर बसेका छौँ। वर्षायाम शुरु भएपछि कहाँ जाने भन्ने समस्या अहिलेदेखि नै शुरु भइसकेको छ।हावाहुरी चल्यो भने त्रिपाल उडाउँछ कसरी बस्ने भन्ने चिन्ता छ ।”एक सशस्त्र प्रहरी अधिकृतले गुनासो गरे ।“हावाहुरी आएपछि त्रिपाल समाउने कि सीमाको सुरक्षा गर्ने भन्ने चिन्ता छ । व्यवस्थित भौतिक संरचना छैन।”उनले भने, लकडाउनका कारण विशेषगरी सीमा क्षेत्रका मानिस बढी प्रभावित हुने गरेका छन् । खेतीपाती नगर्ने बिहान–बेलुका अन्य काम गर्ने र साँझमा खाद्यान्न खरिद गरेर जीविका चलाउने मानिस नै लकडाउनको सिकार बनेको जानकारहरु बताउँछन् ।