सिन्धुलीको दुधौली नगर अस्पतालको सेवा अवरुद्ध बारे क्षमायाचना माग्दै मंसिर २ गते अर्थात भोलीबाट आफ्ना सबै सेवाहरु सुचारु हुने जनाएको छ ।दुधौली नगरपालिका ५ सिर्थौलीस्थित रहेको दुधौली नगर अस्पतालमा विविध आन्तरिक कारणहरूले अस्पताल सेवामा उत्पन्न अवरोधका सवालमा अस्पताल विकास समितिले आधिकारिक विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेको हो ।
अत्यावश्यक स्वास्थ्य सेवामा परेको नकारात्मक प्रभावप्रति खेद व्यक्त गर्दै समितिले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कडा ध्यान दिने तथा आवश्यक छानबिन र कारबाही प्रक्रियालाई अघि बढाइने विज्ञप्ती मार्फत स्पष्ट पारेको छ।मंसिर २ गते मंगलबारदेखि अस्पतालबाट प्रदान हुने सबै प्रकारका स्वास्थ्य सेवाहरू नियमित रूपमा पुनःसुचारु हुने विकास समितिका कार्यवाहक अध्यक्ष तथा दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्र किशोर थारुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अस्पतालजस्तो जनजीवनसँग प्रत्यक्ष सम्बन्धित संस्थामा सेवा अवरुद्ध हुनु उपभोक्ता हित विपरीत तथा अस्पतालको छविमा नकारात्मक असर पार्ने भएकाले अस्पताल व्यवस्थापनले घटनालाई गम्भीरतापूर्वक लिएको उल्लेख गरिएको छ।अस्पताल विकास समितिले सबै सरोकारवालालाई अस्पताल सेवा पुनःसञ्चालनको जानकारी गराउँदै निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ।