उच्च अदालतद्धारा बम्जनमाथिको मुद्धामा हदम्याद नाघेको भन्दै सफाई

250 Shares

उच्च अदालत जनकपुरले बाल यौन दुराचार मुद्धामा जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर गरेका रामलाल बम्जन(रामबहादु¬र)लाई हदम्यादका कारण मुद्दै चल्न नसक्ने भन्दै सफाइ दिएको छ।जिल्ला अदालत सर्लाहीले गत वर्ष असार १७ गते बम्जनलाई १० बालबालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै १० वर्ष कैद र रु पाँच लाख जरिवाना हुने फैसला गरेको थियो । त्यसमाथि भएको पुनरावेदनमा न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले हदम्यादका कारण बम्जनमाथि मुद्दा नचल्ने देखिनाले जिल्ला अदालत सर्लाहीको सजाय लागू हुन नसक्ने फैसला गरेको हो ।
गएको चैत ६ गते फैसला भएको उक्त मुद्दाको बिहीबार पूर्णपाठ आएको हो।पूर्णपाठमा प्रचलित कानुन अनुसार हदम्याद भित्र अभियोग पत्र दायर नभएको जिकिर गरिएको छ ।२०७३ साउन २० गते उक्त घटना भएको थियो।त्यतिबेला प्रचलित कानुन अनुसार जबर्जस्ती करणी कसुरका लागि छ महिना हदम्याद रहेको थियो ।
सो हदम्याद अनुसार वादी पक्षले २०७३ माघ १९ गतेभित्रै अभियोगपत्र दायर गरिसक्नुपर्ने थियो।तर,पीडित पक्षले २०७३ माघ २३ गते मात्रै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गराएका थिए।सो समयसम्म हदम्याद नाघेको र पीडित तत्कालीन बालबालिका ऐन, २०४८ अनुसार १६ वर्ष पुगेर बालिग भइसकेको पूर्णपाठमा उल्लेख गरिएको छ।पीडित २०७४ असार १९ मै १६ वर्ष पुगिसकेको फैसलामा भनिएको छ ।
“सर्लाही जिल्ला अदालतको फैसला नमिलेकोले बदर भई अभियोग पत्र नै खारेज हुने ठहर्छ,”पूर्णपाठमा उल्लेख गरिएको छ,“कसुरदार ठहर भएका पुनरावेदक प्रतिवादी राम बहादुर बम्जन भन्ने रामलाल बम्जनले समेत आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ।वादी नेपाल सरकारको पुनरावेदक जिकिर पुग्न सक्दैन ।”
बालबालिका सम्बन्धी ऐन,२०७५ को दफा ७४ अनुसार हदम्याद कायम गरी अभियोगको विषयबस्तुमा प्रवेश गरी इन्साफ गरेको भए पनि सो नमिलेको र प्रस्थान विन्दु (हदम्याद) नै गलत भएपछि गर्न खोजिएका सबै काम कारबाही कानुनसम्मत नभई त्रुटिपूर्ण हुने फैसलामा उल्लेख गरिएको छ ।
यसअघि जिल्ला अदालत सर्लाहीले आंशिक दाबी पुग्ने फैसलासहित बम्जनलाई दोषी ठहर गरेको थियो।त्यतिबेला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति दिने फैसला सुनाएका थिए।यद्यपि यही मुद्दामा उनका चेला गुरु भन्ने जितबहादुर तमाङ र ताप्चेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जनलाई सफाइ दिएको थियो । उनीहरू वारदातको समय उपस्थित नभएको फैसलामा लेखिएको छ ।
२०७७ असार १८ गते सर्लाही जिल्ला अदालतमा दर्ता भएको मुद्दा २०८१ असार १७ गते आंशिक दाबी पुगेको फैसला गरेका थिए।त्यसपछि उक्त फैसलामा असन्तुष्टि जनाउँदै बम्जनले २०८१ असोज ४ गते उच्च अदालतमा पुनरावेदनमा गएका थिए ।

सम्बन्धित समाचार