सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगीहरु फेला परेका छन् ।२०७८ सालबाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका बनाउने उद्धघोष गरेको भएपनि गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै एक सय २१ जना नयाँ क्षयरोगीहरु फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।
उनका अनुसार फेला परेका एक सय २१ जना नयाँ क्षयरोगीहरु मध्य एक सय १९ जनाको उपचार सफल भएको छ । भने आर्थिक वर्ष २०७८/०७९ मा एक सय १० जना क्षयरोगीहरु फेला परेका थिए ।क्षयरोगका नयाँ नयाँ बिरामी फेला परे पनि पुराना बिरामीहरुमा रोग निर्मुल उन्मुलन गर्नको लागि चुनौति रहेको र नगरका स्वाथ्यकर्मीहरुको एकल प्रयासले मात्रै सो सम्भव नरहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
शाखाले क्षयरोग निर्मुल उन्मुलन गर्नको लागि जनप्रतिनिधिहरु,सामुदायिक तथा नीजि स्वास्थ्य संस्थाहरु,समाजसेवी,राजनितिक दलका नेता लगायत मिडियाकर्मीहरुको पनि साथ र सहयोग आवश्यक रहेको बागमती सेवा समाज नेपालका क्षयरोग कार्यक्रम संयोजक अजम्द अलि मिकरानीले बताए ।उनका अनुसार हरिवन नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका र क्षयरोग र क्षयरोगीको पहिचान तथा उपचार गर्नका लागि प्राविधिक रुपमा हरिवनमा रहेको बागमती सेवा समाज नेपालले विगत करिब पाँच वर्षदेखि सहयोग पुर्याउदै आएको छ ।
नगरको स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा भएको पालिका स्तरीय क्षयरोग तथा कुष्ठरोगको वार्षिक नतिजा विश्लेषण कार्यक्रममा सहभागीहरुले नगरपालिकालाई क्षयरोग मुक्त पालिक बनाउन सामुदायिक स्वास्थ्यकर्मीहरुले मात्रै सम्भव नरहेको बताएका छन् ।
मधेश प्रदेशका हरिवन र निजगढ नगरपालिका तथा लक्ष्मीनियाँ गाउँपालिकालाई नेपाल सरकारले सन २०३५ सम्ममा दिगो विकासको लक्ष्य हाँसिल गर्ने उदेश्य अनुरुप पहिलो चरणमा क्षयरोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य लिएको छ । जस अनुसार २०७८ सालबाट यी स्थानीय तहहरुमा क्षयरोग मुक्त अभियान घोषणा गरिएको छ । प्रत्येक एक लाख जनसंख्यामा दुई सय ४५ जनामा क्षयरोग देखा पर्ने गरेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को तथ्यांकमा उल्लेख गरिएको छ ।