बरहथवालाई साक्षर नगर बनाउन असोज ७ बाट तथ्यांक संकलन गरिने

462 Shares

सर्लाहीको बरहथवा नगरपालिकाका हरेक वडाबाट निरक्षरहरुको तथ्यांक संकलन गरिने भएको छ । बरहथवा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्न भन्दै नगर भित्रका सबै १८ वटै वडाहरुका १६ देखि ६० वर्ष उमेर समूहका सबै निरक्षर नागरिकहरुको तथ्यांक संकलन गर्ने तयारी गरिएको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी  कटुवालले जानकारी दिइन् ।
उहाँका अनुसार बरहथवा नगरपालिकालाई साक्षर पालिका घोषणा गर्न प्रत्येक वडाबाट १६ वर्ष देखि ६० वर्षसम्मका निरक्षरहरु व्यक्तिहरुको तथ्यांक संकलन गर्न छलफल चलि रहेको छ ।१६ देखि ६० वर्ष उमेर समूहका सबै नेपाली नागरिकहरुलाई न्युनतम साक्षरताको अवसर प्रदान गरि वि.स २०७६ साल भित्रमा साक्षर नेपाल घोषणा गर्ने र जीवनपर्यन्त सिकाइको आधार तयार गर्ने उद्धेश्य रहेको साक्षर नेपाल अभियानका सहजकर्ता प्रमोद मण्डलले बताए ।
असोज ७ गतेदेखि प्रत्येक वडाको घरघरमा गएर निरक्षर व्यक्तिहरुको तथ्यांक संकल गर्ने,असोज १२ गते निरक्षर व्यक्तिहरुको तथ्यांक कम्प्युटरमा प्रबिष्ट गर्ने,असोज १४ गते कक्षा संचालन गर्न रणनीति तयार गर्ने,असोज १८ गते देखि मंसिर १८ गते सम्म साक्षरता कक्षा संचालन गर्ने,मंसिर १९ र २० गते प्रमाणीकरण गर्ने र मंसिर २१ तथा २२ गते साक्षर पालिका घोषणा गर्ने कार्यक्रम तय गरिएको बरहथवा नगरपालिकाको शिक्षा शाखा प्रमुख अनिल कुमार साहले बताए ।उनका अनुसार शिक्षा मन्त्रालयअन्तर्गतको अनौपचारीक सिकाइ केन्द्रले साक्षरका १२ सूचकलाई आधार मानी साक्षर स्थानीय तह घोषणा गर्ने बताएको र सोही अनुसार बरहथवा नगरपालिका पनि लागि परेको हो ।
केन्द्रले राष्ट्र भाषा वा मातृभाषाका वर्ण÷अक्षर पढ्न र लेख्न, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्न, आफ्नो र परिवारका सदस्यको नाम, उमेर सम्बन्धी पढ्न, मोबाइल र क्यालकुलेटरका अंक तथा अक्षर चिनेर प्रयोग गर्न,शून्यदेखि नौसम्मका अंक अक्षरमा लेख्न, एकदेखि सयसम्म गणना, लेनदेनका हिसाब राख्न, सरल चित्र पोस्टर साइनबोर्ड र ट्राफिक संकेत पढ्न र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन,भित्तेपात्रो हेरि तिथिमिति बताउन र बैंक भौचर भर्न र चेकको प्रयोग गर्नसक्ने गरी १२ सूचक उल्लेख गरेको छ ।केन्द्रले निर्धारण गरेका १२ सूचकमध्ये कुनै छ सूचकमा पर्ने नागरिकलाई साक्षर घोषणा गर्न सकिने उल्लेख छ ।
नेपाललाई साक्षर बनाउन सरकारको अर्बौं रुपैया खर्च भइसकेको भएपनि हालसम्म नेपाल साक्षर घोषणा हुन नसकेकोले सर्लाही जिल्लालाई साक्षर जिल्ला घोषणा गराउन सम्बन्धित सबै सरोकारवालाहरु गम्भीर हुन आवश्यक रहेको नगर प्रमुख कटुवालले आग्रह गरिन ।

सम्बन्धित समाचार