हरिवन नगरपालिकाको सरकारी सवारी साधनमा अझैँ निजी नम्बर प्लेट मै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-६-१० गते   ५३८ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले सरकारी नम्बर प्लेटको सवारी साधनलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्दै आईरहेका छन् ।विगत दुईवर्ष अघिदेखि नै प्रमुख प्रशासकीय अधिकृत प्रधानले सरकारी सवारी साधनलाई प्रदेश–३–०१–०२७ च ५६१८ नम्बरको रातो नम्बर प्लेट राखेर निजी प्रयोग गर्दै आईरहेका हुन ।
हरिवन नगरपालिकाका निवर्तमान नगर प्रमुख गणेश प्रसाईँ कै कार्यकालमा खरिद गरिएको उक्त सरकारी सवारी साधन अहिलेसम्म पनि निजी नम्बर प्लेटमै प्रमुख प्रशासकीय अधिकृत प्रधानले प्रयोग गर्दै आइरहेका हुन ।
शनिबार र सार्वजनिक विदाको दिन सरकारी सवारी साधन प्रयोग नगर्ने प्रतिवद्धता जनाएका हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले पनि यस विषयमा चासो नराख्नुले उनले पनि शनिबार र सार्वजनिक विदाको दिन प्रयोग गर्ने गरेका छन् भन्ने प्रष्ट हुन्छ । नगर प्रमुख बुढाथोकीले आफ्नो कार्यकाल करिब डेढ वर्ष बित्न लाग्दा समेत प्रमुख प्रशासकीय अधिकृत प्रधानले राज्यको ढुकुटीमा गर्दै आएको अनियमिततालाई नियमन नगर्नु यस कार्यमा उनको समेत संग्लग्नता रहेको सहजै शंका गर्न सकिने एक स्थानीयले बताए ।
प्रमुख प्रशासकीय अधिकृत प्रधानले चढ्दै आएको सरकारी सवारी साधन तुरुन्त सरकारी नम्बर प्लेटको बनाउन माग राख्दै नेकपा(माओवादी केन्द्र)हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले नगर प्रमुख बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत प्रधानलाई भदौ १९ गते मंगलबार एक ध्यानाकर्षण पत्र बुझाएका थिए । तर यो समाचार तयार पर्दा सम्म पनि सो सवारी साधनलाई सरकारीकरण गरिएको छैन् ।
निवर्तमान नगर प्रमुख प्रसाइँ र प्रमुख प्रशासकीय अधिकृत प्रधानको आपसी मिलेमतोमा बिदाको दिनमा पनि प्रयोग गर्न मिल्ने भन्दै उक्त सरकारी सवारी साधनलाई निजी नम्बर प्लेट राखिएको नगरपालिका स्रोतको दाबी छ ।सरकारी नम्बर प्लेट राख्दा सार्वजनिक बिदाको दिन उक्त सवारी साधन प्रयोग गर्न नपाइने भएपछि सरकारी नम्बर प्लेट नराखिएको नगरपालिका स्रोतले जनाएको छ ।
आफुले पहिलै त्यो सरकारी सवारी साधनमा सरकारी नम्बर प्लेट राख्न पहल गरेको तर यातायात व्यवस्था कार्यालयको ढिलासुस्तीले त्यो काम अघि बढ्न नसकेको नगर प्रमुख बुढाथोकीको गैर जिम्मेवार पुर्ण जवाफ छ । उनले चाँडै सरकारी नम्बर प्लेट राखिने बताएका भएपनि करिब १ महिना हुनै लाग्दा पनि सरकारी नम्बर प्लेट राखिएको छैन् ।
जनस्तरबाट आलोचना हुने डरले गएको चैतदेखि जेठसम्म तीन महिना उक्त सवारी साधन नगरपालिकाको कम्पाउण्डमा त्रिपालले छोपेर राखिएको थियो।तर,गएको असारयता भने प्रमुख प्रशासकीय अधिकृत प्रधानले उक्त सवारी साधनलाई व्यक्तिगत सम्पत्ति जसरी निर्वाध रुपमा प्रयोग गर्दै आई रहेका छन्। भने नगर प्रमुख बुढाथोकी देखि नगर उप प्रमुख हरिमाया घलान लगायत सबै वडा अध्यक्ष एवम जनप्रतिनिधिहरु तैँ चुप मँै चुप छन् । शनिबार र सार्वजनिक विदाको दिन प्रयोग गर्नका लागि निवर्तमान नगर प्रमुख प्रसाईँको कार्यकाल मै सो सरकारी सवारी साधनलाई निजी नम्बर प्लेट राख्न सहमती भए अनुसार नै निजी नम्बर प्लेट राखिएको प्रमुख प्रशासकीय अधिकृत  प्रधानले स्वीकार गरे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech