महोत्तरीका होटल तथा पर्यटन व्यवसायीहरू आन्तरिक र बाह्य पर्यटकका लागि छुट सहितको स्वागतमा जुटेका छन् । विश्व पर्यटन दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीमा आबद्ध व्यापारीहरूले आन्तरिक र बाह्य पर्यटकका लागि २५ प्रतिशतसम्म छुटसहित स्वागतमा जुटेका हुन् ।पर्यटकहरूलाई आकर्षण गर्न जिल्लाका मुख्य सडकहरूमा झिलिमिली बत्ती जडान गरिएको छ भने मन्दिर तथा पर्यटकीय स्थलहरूमा सरसफाइ समेत गरिएको छ ।यो वर्षको पर्यटन दिवस १ साता मनाउने निर्णय गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले जानकारी दिए ।
उनका अनुसार यो अवधिमा स्थानीय पर्यटकीय सम्भावनाको खोजी र योजना बनाईने,उच्च पहाडहरू राईमण्डल,चनौटे डाँडाजस्ता ठाउँहरूको सम्भाव्यता अध्ययन गरिने छ । होटल तथा पर्यटन व्यवसायीहरू जिल्लाका सीमा नाका र एअरपोर्टमा पुगेर खादा तथा माला लगाउँदै आन्तरिक र बाह्य पर्यटकको स्वागत गर्ने समेत कार्यक्रम रहेको छ ।विश्व पर्यटन दिवसको पहिलो दिन नै करिब ३ सय पर्यटकलाई स्वागत,सत्कार गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले जनाएको छ ।योसँगै पर्यटन व्यवसायीहरू जिल्लाका सम्भावित पर्यटकीय स्थलको सम्भावनाको सघन खोजीमा जुटेका छन् ।