बच्चालाई किन घरीघरी ज्वरो आउँछ,ज्वरो घटाउन पानी पट्टीको धेरै भूमिका छैन ः डा.घिमिरे

677 Shares

पाँच वर्षभन्दा सानो बच्चालाई महिनामा ३्४ पटक ज्वरो आयो भने बाबुआमाको चासो हुनु स्वाभाविक हो। त्यस्तो बेला एकदम ठूलो समस्या हो कि भनेर बुवाआमालाई चासो र चिन्ता हुन्छ। बच्चाहरूलाई धेरैजसो हुने भाइरल ज्वरो नै हो। हाम्रो वातावरणमा धेरै भाइरसहरू घुमिरहेको हुन्छ। एउटा भाइरसबाट निको नहुँदै  फेरि अर्को भाइरसले समस्या पार्छ।
एउटा बच्चाले स्कुल गएपछि एकथरी भाइरस ल्याउँछ अनि अरूलाई सार्छ।विशेष गरेर  स्कुल जान थालेपछि बच्चाहरूलाई भाइरलको कारणले ज्वरो आउने हुन्छ। त्यसबाहेक केही बालबालिकामा पिसाबको संक्रमण र अरू समस्याले समेत ज्वरो आउने हुन्छ। तर त्यो समस्या निकै कम मात्रामा हुन्छ।
धेरैजसोमा भाइरल ज्वरो आउने जाने भइराख्छ। दुइटा ज्वरो आउनेको बीचमा नानीबाबु सक्रिय छन्, खेलिरहेका छन् र २्४ दिनमा ज्वरो हराउँछ भने त्यो भाइरल ज्वरो हो। कुनै पनि बालबालिकालाई ३ देखि ५ दिन ज्वरो आउँछ। ज्वरोसँगै रुघाखोकी हुन्छ भने त्यो पनि भाइरल ज्वरो हो। यस्तो बेला कहिलेकाहीँ ज्वरो १०३ देखि १०५ डिग्रीसम्म समेत आउन सक्छ। ज्वरोको औषधी खाएपछि ज्वरो घट्दै जान्छ अनि बच्चा खेल्न समेत थाल्छ भने भाइरल भनेर बुझ्न सकिन्छ।
घरीघरी ज्वरो आएपछि ठूलै बिरामी छ भन्ने लाग्छ तर सामान्यतस् ज्वरो छोटो समयमा निको हुन्छ भने आत्तिन पर्दैन। कहिलेकाहीँ भाइरल ज्वरो भएका बालबालिकाहरूलाई सास फेर्न गाह्रो हुने, कोखा हान्ने, घ्यारघ्यार हुने हुन्छ। त्यसलाई हामीले निमोनिया भयो कि भनिरहेका हुन्छौं। त्यो निमोनियाभन्दा पनि भाइरल इन्फेक्सनपछि हुने घ्यारघ्यार हो। केही बच्चाहरूलाई निमोनिया हुन पनि सक्छ तर धेरैजसो बालबालिकालाई हुने घ्यारघ्यार हो। तर घरीघरी भइरह्यो भने त्यो दमको लक्षण हुन सक्छ।
ज्वरो आउँदा पानी पट्टी बाँध्ने संस्कार हो। तर यसलाई परिवर्तन गर्नुपर्छ। विज्ञानले पनि के भनेको छ भने अलिअलि तातो पानीले पुछ्ने हो तर चिसो पानी लगाउन हुँदैन। पानी पट्टीको धेरै भूमिका छैन। चिसो पानी भिजाएर पट्टी त लगाउनै हुँदैन। यसले बच्चाहरूलाई खोकी लाग्ने समस्या हुन्छ। बच्चाहरूलाई हतार गरेर पानी पट्टी गर्नेभन्दा पनि ज्वरोको औषधी खुवाउने, लुगाहरू खोल्ने गर्नुपर्छ। त्यस्तो गर्दा विस्तारै ज्वरो झर्दै जान्छ।
पिसाबको संक्रमण भयो भने ज्वरोले गर्दा बिरामीलाई जाडो हुन्छ। तर ज्वरोको औषधी खाँदै गएपछि यो आफैं ठीक हुँदै जान्छ।१०३ र १०४ डिग्री ज्वरो आयो भन्दैमा धेरै आत्तिने होइन। ज्वरोसँगै अरू समस्या देखियो, ज्वरो घट्दा समेत बच्चा टाठो भएन भने त्यो गम्भीर कुरा हो। ज्वरो ५्७ दिनभन्दा धेरै आयो र ज्वरोसँगै अरू समस्या देखियो भने चिकित्सककहाँ जानु पर्छ। १०० डिग्रीभन्दा कम ज्वरो छ अनि बच्चा टाठो छ भने औषधी खानु पर्दैन। कहिलेकाहीँ ज्वरो आउनु पनि नियमित प्रक्रिया हो।तर ज्वरो १०० डिग्रीभन्दा धेरै आयो भने औषधी खुवाउन पर्छ। ज्वरो आउँदा बेहोस हुने बच्चा छन् भने ज्वरो आउनसाथ औषधी खुवाउन पर्छ। त्यतिमात्र होइन ज्वरो आउने संकेत देखिनासाथ औषधी खुवाउन पर्छ।
कतिपय अवस्थामा ज्वरो आउनासाथ एन्टिबायोटिक खुवाउने गरिन्छ। यस्तो गर्नु गलत हो। ज्वरो व्याक्टेरियाको कारण आएको हो भने मात्रै एन्टिबायोटिक खुवाउने हो। कान पाकेको छ, पिसाबमा संक्रमण छ अथवा टन्सिल पाकेर सेतै भएको छ भने एन्टिबायोटिक खुवाउन पर्छ। हरेक ज्वरोमा एन्टिबायोटिकले काम गर्दैन। त्यसैले नचाहिँदो गरी एन्टिबायोटिक खुवाउँदा त्यसले पछि असर गर्न सक्छ। एन्टिबायोटिकले काम नगर्ने अवस्था आउन सक्छ। त्यसैले चिकित्सकले नभनिकन एन्टिबायोटिक खुवाउनै हुँदैन र चिकित्सकले पनि यत्तिकै एन्टिबायोटिक दिनु हुँदैन।
बाल छाती रोग विशेषज्ञ डा.जगत जीवन घिमिरे कान्ति बाल अस्पताल र अल्का अस्पतालमा कार्यरत छन्।

सम्बन्धित समाचार