सर्लाहीको हरिवन नगरपालिका ७ स्थित ताइवान टोल बस्ने एक बालकको हात्तीको आक्रमणबाट ज्यान गएको छ भने एक जना गंभिर घाईते भएका छन् । हरिपुर नगरपालिका १ स्थित जंगलमा मंगलबार बिहान हात्तीको आक्रमणबाट एक बालकको ज्यान गएको र अर्का एकजना गंभिर घाईते भएका प्रहरीले जनाएको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका २ घर भइ हाल हरिवन नगरपालिका ७ ताइवान टोल बस्ने अन्दाजी १४ वर्षीय शिवप्रसाद दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।उनका अनुसार अर्का हरिवन नगरपालिका १० बस्ने अन्दाजी ५१ वर्षीय छविलाल काफ्ले गंभिर घाईते भएका छन् ।
काफ्लेसंगै दाहाल मंगलबार बिहान करिब ८ बजे गाईवस्तुका लागि घाँस लिन हरिपुर नगरपालिका १ स्थित जानकीनगर जंगलमा पसेका थिए ।जंगलमै हात्तीसंग आमनेसामने भएका दाहाललाई हात्तीले लछारपछार पारेपछि उनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए । दाहालसँगै जंगल पुगेका काफ्लेको खुट्टामा चोट लागेको र नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ ।