१३२ केभी प्रसारण लाइनको तार फेर्न अवरोध,काम अलपत्र

गणेश खड्का    प्रकाशित: २०८०-७-१ गते   २५९ पटक हेरिएको

सर्लाही खण्ड अन्र्तगत लालबन्दी नगरपालिका क्षेत्रमा १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति कार्यमा स्थानीयले अवरोध गरेका छन्। करिब ४१ वर्ष अघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनु पर्ने लगायतका माग राख्दै स्थानीयले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति कार्यमा स्थानीयले अवरोध गरेका हुन ।आफ्नो जग्गाको क्षतिपूर्ति पाउन पर्ने र बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनु पर्ने लगायतका माग राखी स्थानीयले लाइनको तार फेर्ने कार्यमा अवरोध गरेको लालबन्दी नगरपालिका १२ का वडा अध्यक्ष दुर्गा बहादुर आलेले जानकारी दिए । उनका अनुसार स्थानीयको अवरोधका कारण असोज १९ गतेबाट नै काम ठप्प भएको छ ।

नेपाल विद्युत प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमताबृद्धि गरी विद्युत् प्रवाह बढाउन धनुषाको ढल्केवर सवस्टेसन सम्म मकवानपुरको हेटौंडाबाट करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर नयाँ तार राखी प्रसारण प्रणाली सुधार गर्न लागेको नेपाल विद्युत प्राधिकरणल जनाएको छ ।
विद्युत् आपूर्तिमा सुधार हुने,पश्चिम क्षेत्रमा उत्पादित विद्युतलाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने, ढल्केबरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि थप सहज हुने र देशभित्र खपत गरी अतिरित्त भएको विद्युतलाई ढल्केवर सवस्टेसनमार्फत भारततर्फ निर्यात गर्ने तयारीका साथ नेपाल विद्युत प्राधिकरणले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति कार्य थालेको थियो ।

ढल्केवर सवस्टेसनबाट सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुर सवस्टेसनसम्मको करिब ४० किलोमिटर लाइनमध्ये एउटा सर्किटको करिब ३६ किलोमिटर तार फेरि सकिएको भएपनि लालबन्दी बजार क्षेत्रका स्थानीयको अवरोधका कारण करिब ४ किलोमिटर तार फेर्ने काम रोकिएको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष शुक्र लामाले बताए ।उनका अनुसार तार बदल्ने क्रममा टावरमा जोडिएको पुरानो तार काटेर अस्थायी रुपमा बाँधी राखिएको छ। एउटा सर्किट बन्द हुँदा ढल्केवरबाट पश्चिमतर्फ र हेटौंडाबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न समस्या हुँदा यसले देशकै समग्र विद्युत् प्रसारण प्रणाली प्रभावित बनाइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले जनाएको छ ।कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङ लगायतका समस्या आई विद्युत् मागलाई व्यवस्थापन गर्ने असहज भइरहेको ेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले जनाएको छ ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी,लालबन्दी नगरपालिकाका नगर प्रमुख लगायत सम्बन्धित वडाध्यक्ष, स्थानीय बासिन्दा लगायत सरोकारवालाहरुसँग पटक–पटक छलफल गरिएता पनि कुनै निश्कर्ष आउन नसकेको आयोजना प्रमुख राजेन्द्र कोइरालाले बताए ।उनका अनुसार माग पूरा नभएसम्म काम नगर्न स्थानीले चेतावनी दिएपछि समस्या भएको हो ।
१३२ केभी प्रसारण लाइनको मध्यविन्दुबाट दायाँवायाँ नौ÷नौ मिटर मार्गधिकार तोकिएको प्राधिकरणले जनाएको छ। बैंक तथा वित्तीय संस्थाले उक्त मापदण्डभन्दा विपरीत ५० मिटरसम्म पर्ने जग्गाको समेत धितो नलिने गरेको स्थानीय बिर्ख बहादुर लामाले बताए । तार फेर्ने कार्यलाई खण्ड–खण्ड विभाजन गरी काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो खण्डमा हेटौँडाबाट पथलैयासम्मको काम सम्पन्न भइसकेको छ। दोस्रो खण्डमा ढल्केवरबाट नवलपुरसम्मको तार फेर्ने काम भइरहेको छ।तेस्रो खण्डमा नवलपुरबाट रौतहटको चपुरसम्म र चौथो खण्डमा चपुरबाट पथलैयासम्मको तार पर्ने काम भई रहेको छ ।एउटा सर्किटको काम सकिएपछि उक्त लाइनलाई चालू गरी अर्को सर्किटको तार फेर्न सुरु गरिने आयोजनाले छ। १३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौता २०७९ साउन ४ मा कार्यान्वयनमा आएको थियो। आयोजनाको काम २०८१ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख कोइरालाले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech