सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल) सर्लाहीको मात्र नभई मधेश प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदै आएको छ ।बागमती नगरपालिका ४ र १२ को एक सय २१ बिघामा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(चरत ताल) सर्लाहीको मात्र नभई मधेश प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदै आएको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय नगरले ताल परिसरलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न योजना ल्याएको छ ।पूर्व–पश्चिम राजमार्गबाट तीन किलोमिटरको दूरीमा रहेको यो ताल चुरे पहाडको काखमै छ । ताल परिसरमा रहेका अनेक मनोरञ्जनका साधनले यहाँ आउने आन्तरीक तथा बाह्य पर्यटकलाई थप रोमाञ्चित बनाउने गरेको छ ।तालमा तीव्र गतिमा कुद्ने मोटरबोटदेखि मिनी क्रुजसम्मले तालभन्दा पनि समुन्द्रमा घुमेको आभास दिलाउने गरेको ताल घुम्न काठमाण्डौँबाट आएका आन्तरीक पर्यटक यतिराज अधिकारीले बताए ।
तालको एक छेउमा एडभेन्चर स्काई साइक्लिङ,घोडचढी,उँटचढी,बालबालिकाका लागि खेल्ने सामग्री सहितको पार्क हुनुका साथै पार्कको छेउमा अजिङ्गर पनि राखिएको छ ।तालकै छेउमा तयार हुँदै गरेको करिब एक सय बिघा क्षेत्रफलको नगर बगैँचा पर्यटकका लागि अर्को आकर्षणको केन्द्र बनिरहेको छ । पछिल्लो समय ताल घुम्न आउने पर्यटकको घुइँचो नै लाग्ने गरेको बागमती इन्टरटेनमेन्ट प्रा.लिको भनाई छ । विभिन्न चाडपर्व तथा नेपाली र अंग्रेजी नयाँ वर्षमा समेत आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोले ताल परिसर भरिभराउ हुने गरेको बागमती इन्टरटेनमेन्ट प्रा.लिका गौतम खड्काले बताए ।
उनका अनुसार संघ र प्रदेश सरकारको सहयोग तथा समन्वयमा बागमती नगरपालिकाले बागमती नदी किनारमा खेर गएको जमिनमा मानवनिर्मित ताल निर्माण गरेको हो ।ताल निर्माण कार्य अहिले पनि जारी छ ।भौतिक संरचना सँगसँगै ताललाई अझै सुन्दर बनाउने कार्य जारी रहेको बागमती नगरपालिकाले जनाएको छ ।माछा पोखरी निर्माणाधिन अवस्था मै पर्यटकीय आकर्षणको केन्द्र बनेको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोख्रेलले जानकारी दिए ।अहिले देशभर मात्र नभई भारतमा पनि तालको चर्चा छ । ताल अवलोकन गर्न आउनेको भिड थेगि नसक्नु छ ।फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा बागमती माछा पोखरी नभई भरत तालको नामले चर्चा परिचर्चा गरिएको छ ।
नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाको परिकल्पनामा यो माछा तालको रूपमा निर्माण भइरहेको भएपनि ताल घुम्न आउने पर्यटकले माछा ताल भनेनन्, नगर प्रमुख भरत कुमार थापाले बनाएकाले‘भरत ताल’ नामकरण गरिदिएको स्थानीयको भनाइ छ ।तालको नामकरणको विषयमा हालसम्म नगरले कुनै निर्णय गरेको छैन । निर्माणस्थलमा अझै बागमती माछा पोखरी परियोजना नामसहितको परियोजना बोर्ड देख्न सकिन्ने भएपनि तालवरपर सञ्चालन भइरहेका होटेलहरूमा भरत ताल देख्न सकिन्छ । यति मात्रै नभई सवारीसाधनमा समेत भरत ताल नै लेखिएको छ ।
निर्माणाधीन तालमा बागमती नदीकै पानी ल्याएर हालिएको छ ।तालमा सुरुदेखि नै मोटरबोट सञ्चालन गरियो ।पछिल्ला दिनमा तालको अवलोकन गर्न आउनेको संख्या ह्वात्तै बढेको सो क्षेत्रमा विभिन्न किसिमका व्यावसाय गर्नेहरुको भनाई छ ।‘टिकटक र अन्य सामाजिक सञ्जालमा यो ताल भाइरल भएपछि विभिन्न अवसर पारेर तालमा पारिवारिक जमघट गर्न आउने बढेका छन्,’ खड्काले भने,‘सार्वजनिक बिदाको दिन त मोटरबोटमा मानिस चढाएर घुमाउनै भ्याइँदैन ।’
निर्माणाधीन ताल परिसरमा होटेललगायत अन्य व्यापार व्यवसाय निकै फस्टाउँदा आन्तरिक रोजगारी सिर्जना भएको छ ।आफ्नो ठाउँमा निर्माण भइरहेको ताल पर्यटकीय गन्तव्य बन्दै गएपछि खुसी लागेको स्थानीले बताएका छन् ।‘तालपरिसरमा अप्रत्यासित रूपमा पर्यटक ओइरिएका छन्, यसबाट हामी पनि आश्चर्यचकित भइरहेका छौँ,’बागमती नगरपालिका १२, कर्मैयाका स्थानीय लीला ढकालले भने ।उनका अनुसार ‘व्यवस्थित ढंगले ताल निर्माण गरे भविष्यमा मुलुककै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।’
मधेश प्रदेश सरकारको ८० प्रतिशत,स्थानीय सरकारको १५ प्रतिशत र संघीय सरकारको ५ प्रतिशत लागतमा ताल निर्माणको काम भइरहेको छ ।निर्माणाधीन अवस्थामै तालबाट आर्थिक उपार्जन समेत हुन थालेको छ ।तालमा सञ्चालन हुने मोटरबोट तथा व्यापार व्यवसाय गर्ने व्यापारीहरूले नगरपालिकालाई कर तिरिरहेका छन् । ताललाई माछापालनको हिसाबले सञ्चालन गर्दा नगरले थप आयआर्जन गर्ने नगरपालिकाले जनाएको छ ।
तालको उत्तरपट्टिको भागमा सुमेरु पर्वतको आकृतिमा शिव–पार्वतीको विशाल मूर्ति स्थापना गरिने बागमती नगरपालिकाकी उप प्रमुख लीलाकुमारी मोक्तानले बताइन् ।उनका अनुसार शिवको जटाबाट पानी झरेको स्वरूप निर्माण गरिने छ । तालको बीच भागमा होटेल निर्माण हुनेछ । ताल आसपासमा ३० वटा वनभोज स्थल,५० वटा चौतारा र प्रतीक्षालय निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
यस्तै तालको दक्षिणतर्फको भागमा चलचित्र छायांकनको क्षेत्र बनाउने योजनासमेत रहेको नगरपालिकाको योजना शाखाले जनाएको छ ।नगरले चलचित्र विकास बोर्डबाट आएको प्रस्तावमा अध्ययन गरिरहेको छ ।नगरपालिकालाई पर्यटकीय हिसाबले विकास गर्दै स्थानीयस्तरमा आयस्रोतको खोजी गरिएको नगर प्रमुख थापाले बताए । उनका अनुसार ताल निर्माणले यस क्षेत्रको सिँचाइ र वातावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
‘तालमा माछापालन गर्नेदेखि पर्यटक आकर्षित गर्ने,नगरको आम्दानी बढाउने हाम्रो प्रमुख उद्देश्य हो,’ नगर प्रमुख थापाले बताए ।नगर प्रमुख थापाका अनुसार ‘निर्माणाधिन अवस्था मै तालमा देखिएको आकर्षणले हामीलाई धेरै हौस्याएको छ । ताललाई देशको एउटा आकर्षक पर्यटकीय स्थल का साथै प्राकृतिक विपद्सम्बन्धी तालिम केन्द्र पनि बन्ने सम्भावना देखिएको नगर प्रमुख थापाको भनाइ छ ।नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा प्राकृतिक प्रकोप न्यूनीकरणसम्बन्धी प्रदेशस्तरीय पूर्वतयारी अभ्यास समेत यसै तालमा हुने गरेको ताल व्यावस्थापनमा खटिएको टोलीको भनाई छ ।