सर्लाहीको हरिवन नगरपालिका ८ स्थित सञ्चालित इन्दु शंकर चिनी उद्योगले सञ्चालनको करिब दुई सातामा छ लाख क्विन्टल भन्दा बढी उखु क्रसिङ गरेको छ।चालु सिजनको पुसको पहिलो साताबाट नियमित क्रसिर सुरु गरेको इन्दु शंकरले जिल्लाका उखु उत्पादक किसानहरुलाई साप्ताहिक रुपमा भुक्तानी गर्दै करिब दुई साता मै छ लाख १७ हजार दुई सय क्विन्टल उखु क्रसिङ गरी करिब रु २८ करोड रकम किसानहरुलाई भुक्तानी समेत गरि सकेको उद्योगका प्रशासकीय प्रवन्धक ठाकुर प्रसाद नेपालले जानकारी दिए ।
जिल्लामा सञ्चालित अन्य चिनी उद्योगहरुले उखु उत्पादक किसानहरुलाई समयमै भुक्तानी नगरि रहेको अवस्थामा इन्दु शंकरले समयमै किसानहरुलाई भुक्तानी गरेको कारण इन्दु शंकर प्रति किसानहरुको भरोसा र विश्वास रहेको उद्योगले दाबी गरेको छ ।
इन्दु शंकरमा उखु बिक्रि गरेका उखु उत्पादन किसानहरुलाई साप्ताहिक रुपमा भुक्तानी गरि रहेका कारण उखु उत्पादक किसानहरुको इन्दु शंकर प्रतिको दृष्टिकोण फरक रहेको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताए।उखु उत्पादक किसानहरुलाई नियमित र सहज भूक्तानी दिने देशभरका चिनी उद्योगहरु मध्य इन्दु शंकर चिनी उद्योग मात्रै एक रहेको उद्योगले दाबी गरेको छ ।
उद्योगले विगतका वर्षहरू देखि नै उखु खेती विस्तारका लागी उन्नत जातको उखुको विउ,उपचारको विषादीहरूका साथै नयाँ र उन्नत कृषि उपकरणहरुको प्रयोग,अवलोकन भ्रमण,तालीम,गोष्ठी,अन्तरवाली उत्पादनमा प्रोत्साहन,प्राङ्गारीक मलको प्रयोग र प्रेसमढको प्रयोगमा जोड दिँदै उखु बाली र उखु उत्पादक किसानहरुलाई प्रोत्साहन गर्ने काम गरि रहेको उद्योगका उखु प्रवन्धक रकजले बताए ।
उद्योगले चालु सिजानमा करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ।उखु किसानलाई समयमै भुक्तानी गरेर नेपाल कै चिनी उद्योगहरु मध्य फरक पहिचान बनाउन सफल ईन्दु शंकरले गत वर्ष करिब २९ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो ।सरकारले चालु सिजनका लागि उखुको मूल्य रु पाँच सय ८५ प्रति क्विन्टल कायम गरेको छ भने अनुदान वापतको मूल्य रु तोक्न बाँकी रहेको छ ।
गतवर्षको उखुको मुल्यमा सरकारले रु २० क्विन्टल मूल्य बढाएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए।उनका अनुसार सर्लाहीमा गतवर्ष करिब २४ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको थियो भने यस वर्ष करिब १३ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको छ।सर्लाहीमा रहेका तीन वटा चिनी उद्योगहरु मध्य अन्नपुर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योगले उखु उत्पादक किसानहरुको गतवर्ष कै केही रकम भुक्तानी बाँकी रहेको किसानहरुले बताएका छन् ।