चुरे संरक्षण मधेस प्रदेशका लागि महत्वपूर्ण : मन्त्री यादव

एसपि गौरव    प्रकाशित: २०८०-७-१८ गते   २११ पटक हेरिएको

चुरे संरक्षण मधेस प्रदेशका लागि महत्वपूर्ण रहेको नेपाल सरकारका खानेपानी मन्त्री महेन्द्रराय यादवले बताए । उनले मधेस प्रदेशमा पिउने पानीका साथै सिँचाइ दिनप्रतिदिन अभाव हुनुको प्रमुख कारण नै चुरे विनाश भएकाले चुरेको संरक्षण गर्नु आवश्यक रहेको बताए ।सर्लाहीको लालबन्दी नगरपालिका–१६ मा लालबन्दी नगरपालिका,जापान सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको आर्थिक प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत निर्मित सौर्य पम्पिङ प्रणाली र आधुनिक कृषि प्रविधि सहितको तीनघरे एकीकृत ग्रामीण विकास खानेपानी आयोजनाको उद्घाटन गर्न सर्लाही  आएका मन्त्री यादवले सरकार डोकोमा पानी बोक्ने अवस्थाको अन्त्य गर्न लागिपरेको समेत बताए ।

उनले खानेपानी तथा सरसफाई ऐन २०७९ पारित गरेर सबै नेपाली जनतालाई शुद्ध पिउने पानी वितरण गर्ने लक्ष्य राखेको बताउँदै एक घर एक धारा पुर्‍याउने काम चाँडै सुरु गर्ने बताए । उनले विकास निर्माणका अलपत्र परेका सबै योजनालाई पहिलो प्राथमिकता दिने बताए ।लालबन्दी नगरपालिका–१६ स्थित तिनघरेमा लालबन्दी नगरपालिका,जापान सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको रु एक करोड ५९ लाख ७३ हजार पाँच सय ३७ रुपैयाँ १२ पैसामा दुई लाख २५ हजार लिटर क्षमताको खानेपानी आयोजना निर्माण भई शुक्रबार उद्घाटन गरिएको लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष गणेश थापाले जानकारी दिए । उनका अनुसार करिब तीन सय घरधुरीलाई शुद्ध पिउने पानी पुर्याउने उद्धेश्यका साथ आयो निर्माण सुरु गरिएको थियो ।

शुक्रबार मावि तिनघरेको प्राङेगणमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य वेची लुंगेली,निवर्तमान प्रतिनिधि सभा सदस्य शम्भुलाल श्रेष्ठ,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी लगायत जिल्लाका  सरोकारवाला कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुका साथै लालबन्दी नगरपालिका १६ र १५ का जनप्रतिनिधिहरु र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech