ठूलो परिमाणमा बरामद् भएको पटका नष्ट,चाँदीका गहना सहित एकजना पक्राउ

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-७-२३ गते   १३६ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका ८ बाट बरामद् गरेको ठूलो मात्राको पटका जिल्ला प्रहरी कार्यालय सर्लाहीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले चाड पर्वको समयमा सिमा क्षेत्रबाट हुने अपराधिक तथा गैर कानुनी कार्यलाई न्युनिकरण गर्न आफ्नो गस्ती बढापछि जिल्लाका विभिन्न सिमानाकाहरुबाट भन्सार छलीका विभिन्न किसिमका सामानहरुका साथै अन्दाजी रु १५ लाख ३५ हजार बराबरको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार भारतबाट लुकाई छिपाई ल्याएको झिरझिरे १५ कार्टुन,फ्लावर पटका ५ कार्टुन, नागिन पटका ६ बोरा,फुलझरी २ बोरा,बुलेट बम,फिस बम लगायतका पटका बरामद् गरि नष्ट गरिएको हो ।त्यसैगरी भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको चाँदीका तयार गहनासहित एक जनालाई पक्राउ गरेको छ। १ किलो ९ सय ५० ग्राम चाँदीको तयारी गहनासहित भारत सितामढी जिल्ला बसतपुर ग्राम पंचायत ७ का अन्दाजी वर्ष १९ का लभ दासलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
साइकलमा आउँदै गरेका दासलाई मलंगवा नगरपालिका ८ लच्कामा खान तलासी गर्दा कम्मरमा बाँधेको अवस्थामा गहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण धितालले जानकारी दिए ।उनका अनुसार बरामद गरिएका गहनामा ठूलो सिक्का,सानो सिक्का,हनुमानी,औंठी,पायल, ब्रासलेट,प्लेट,लक्ष्मी गणेशको मूर्ति र सिक्री रहेको छ। बरामद गरिएको चाँदीको गहनाको अन्दाजी मूल्य २ लाख ३२ हजार रहेको प्रहरीले जनाएको छ। 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech