उखु उत्पादक किसानहरुलाई नौ करोड भन्दा बढी अनुदान वितरण

गणेश खड्का    प्रकाशित: २०८०-७-२८ गते   ८२ पटक हेरिएको

सर्लाहीका उखु उत्पादक किसानहरुले सरकारबाट पाउनु पर्ने अनुदान वापतको रकम मध्य करिब रु १० करोड रकम प्राप्त गरेका छन् । जिल्लाका १७ हजार ३० उखु उत्पादक किसानहरुले राज्यबाट रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ दशमलव ३० पैसा पाउनु पर्नेमा  तत्कालका लागि रु नौ करोड ११ लाख २६ हजार छ सय ३८ रकम कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीमा प्राप्त भई वितरण भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमालाले जानकारी दिए ।
उनका अनुसार नेपाल सरकारबाट स्वीकृत उखु उत्पादक किसानहरुलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५ (दोस्रो संसोधन २०७६) अनुसार जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा उखु उत्पादक किसानहरुको उखु क्रसिङ्ग गरेको विवरण अनुसार रु.२९ करोड २५ लाख ५२ हजार सात सय ४९ दशमलव ३० पैसा आवश्यक पर्ने भएपनि हाल रु. नौ करोड ११ लाख २६ हजार छ सय ३८ रुपैँया रकम प्राप्त भएको हो ।
प्राप्त भएको रकम जिल्लाका उखु उत्पादक किसानहरुलाई समानुपातिक रुपमा १७ हजार ३० जना किसानहरुलाई वितरण गर्ने सर्वपक्षीय सहमती भए अनुसार चाडपर्वको मुखैमा भएपनि वितरण गरिएको प्रमुख जिल्ला अधिकारी धमालाले बताए । उनका अनुसार जिल्लाका उखु उत्पादक किसानहरुलाई रकम वितरण गर्न नपुग हुने रकम यथासिघ्र निकासा गरिदिन सम्बन्धित निकायलाई आ–आफ्नो तर्फबाट सबै पक्षले अनुरोध गर्ने लगायतका विषयमा छलफल समेत गरिएको छ ।आर्थिक वर्ष २०७९/०८० मा उखु उत्पादक किसानहरुलाई रु २९ रुपैँयाका दरले प्रतिक्विन्टल  अनुदान दिने सहमती भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech