पूर्पक्षका लागि महोत्तरी कारागारमा रहेका “तपस्वी” रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा पीडित बालिकालाई रु पाँच लाख क्षतिपूर्ति भराउने फैसला भएको छ ।सोमबार(आज) सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको ईजलासले अभियुक्त बम्जन विरुद्ध त्यस्तो फैसला गरेको सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।उनका अनुसार न्यायाधिश भण्डारीकै गत असार १० गतेको ईजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेर सोमबार(आज)को ईजलासले पूर्ण फैसला गरेको हो।अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवा,सर्लाहीले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवम पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदावी सहित अभियोग पत्र दायर गरेको थियो ।
सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा रहेका छन् ।सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–६ स्थित निवासबाटै गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो ।२०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीमा बारा जिल्लाको निजगढ नगरपालिका–१२ रतनपुरी निवासी ३० वर्षीय बम्जन विरुद्ध पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएकी थिईन् ।