सर्लाहीको बागवानीको लिची लक डाउनका कारण ठेक्का लागेन

2.2k Shares

जिल्लाको लालबन्दी नगरपालिका १ मा  नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लक डाउनका कारण बागवानीमा उत्पादन भएको लिची ठेक्का नलागेको केन्द्रले जनाएको छ । केन्द्रले लिची बिक्रीका लागि प्रथम पटक १४ लाख १० हजार ३ सय २ रुपैयाँ मूल्य राखेर बढीबढाउ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । १५ दिनमा कसैको पनि आवेदन नपरेपछि केन्द्रले फेरि दोस्रो पटक सूचना जारी गरेको छ ।
दोस्रोपटक सूचना जारी गरेको केन्द्रले लिचीको ठेक्का मूल्य करिब आधाले घटाएको छ । यसपटक ठेक्का मूल्य ७ लाख ९२ हजार ८ सय १८ रुपैँया मात्र कायम गरेको केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले बताउनु भयो । गत वर्ष उक्त बगैँचाको लिची करिब २२ लाखमा ठेक्का लागेको थियो । तर, यसपटक भने लक डाउनका कारण सवारी साधनको आवत जावतमा रोक,बजार बन्द रहेका कारण आवेदन पर्ने सम्भावना न्यून रहेको केन्द्रले जनाएको छ ।
लकडाउनका कारण बजार तथा यातायातका साधन नखुल्ने भएपछि लिची बिक्री–वितरण गर्न नसकिने भएकाले पनि ठेक्का आवेदन नपरेको हुन सक्ने केन्द्रका प्रमुख डा. चौबेले बताउनु भयो । ‘ठेक्का लिएर पनि लकडाउनले गर्दा व्यापारीलाई बिक्री गर्न समस्या छ,समयमै बिक्री गर्न सकिएन भने ठेक्का डुब्ने डरले पनि कसैले ठेक्का नहालेको हुन सक्छन ।’ केन्द्र प्रमुख चौबेले बताउनु भयो ।
बगैँचामा लिची पाक्न सुरु भएको दुई हप्ताभित्रमा ठेक्का र बिक्री सम्पन्न गर्नुपर्ने बाध्यता रहेको भएपनि लक डाउनका कारण अहिले सम्म ठेक्का नलागेको उहाँको भनाइ छ । ‘पाकेको लिची बोटमा धेरै दिन राख्न सकिँदैन । समयमै टिप्न भ्याइएन भने कुहिएर झर्छ ।’  ठेक्ब्का आह्वान गरेको पनि दोस्रो पटक भई सक्यो कुनै ठेक्दारहरुले ठेक्का हालेका छैन्न ।  चौबेले बताउनु भयो । १५ बिघा क्षेत्रफल बगैँचामा १६ देखि २० लाख दाना लिची फलेको केन्द्रको अनुमान छ । 
त्यसैगरी केन्द्रले बगैँचामा रहेको आँपको ठेक्काको लागि १५ दिने बोलपत्र आह्वान गरेको छ । आँपमा पनि केन्द्रले गत वर्षभन्दा आधाले मूल्य घटाएर ठेक्का आह्वान गरेको हो । आँपको उत्पादन वृद्धि भए पनि लकडाउनका कारण बिक्री नहुने देखिएकाले केन्द्रले गत वर्षको भन्दा आधाले मूल्य कम गरेको जनाएको छ ।
यस वर्ष आँपको न्यूनतम ठेक्का मूल्य १० लाख ११ हजार ५ सय ६० रुपैयाँ तोकिएको केन्द्रका प्रमुख डा. चौबेले बताउनु भयो ।

बागवानी केन्द्रले १ सय २० बिघा क्षेत्रफलमा आँप उत्पादन गर्दै आएको छ । यो बागवानी दक्षिण यसियाकै ठुलो बागवानी केन्द्रको रुपमा परिचित रहेको छ । तर यस वर्ष गत वर्षको तुलनामा चिली तथा आँप कम फलेको केन्द्रले बताएको छ ।

सम्बन्धित समाचार