सर्लाहीबाट लोकसेवा आयोगमा करिब ४ प्रतिशत सहभागी

314 Shares

सर्लाहीवासीको लोकसेवा आयोगको परीक्षाप्रति आकर्षण बढेको छ ।आयोगले सार्वजनिक गरेको रिपोर्ट आर्थिक वर्ष २०७९/०८० मा लिइएको परीक्षामा सहभागी हुन आवेदन दिनेमध्ये तीन दशमलव ७७ प्रतिशत सर्लाहीबासी सहभागी भएका पाइएको छ ।आयोगको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा सरकारी सेवाप्रति सबैभन्दा बढी आकर्षण मधेसका पाँच जिल्ला सर्लाही,रौतहट,महोतरी,बारा र धनुषाका मानिसहरु सहभागी भएको आयोगको रिपोर्टमा उल्लेख छ ।
सर्लाहीका तीन दशमलव ७७ प्रतिशत परीक्षामा सहभागी भएपनि उत्तीर्ण भई सरकारी सेवामा सिफारिस हुनेमा भने गुल्मेली तीन दशमलव ९५ प्रतिशत रहेका छन्।आयोग पास भई सरकारी सेवामा सिफारिस हुनेमा गुल्मी पहिलो,स्याङ्जा दोस्रो र सर्लाही तेस्रो स्थामना रहेका छन् ।त्यसपछि जुम्ला र धनुषाका मानिसहरु रहेका छन् ।आर्थिक वर्ष २०७९/०८० मा सर्लाही,रौतहट,महोतरी,बारा र धनुषाबाट मात्र ८१ हजार ४०३ वटा अर्थात १६ प्रतिशत दरखास्त परेका आयोगले जनाएको छ ।सोही आर्थिक वर्षमा देशभरका ७७ वटै जिल्लाबाट दरखास्त परेपनि सबैभन्दा कम दरखास्त पर्ने जिल्लाहरुमा मनाङ,मुस्ताङ,रसुवा,म्याग्दी र डोल्पा रहेका छन्।ती जिल्लाबाट कुल तीन हजार ७३ मात्र अर्थात शुन्य दशमलव ६३ प्रतिशत दरखास्त परेका थिए। आर्थिक वर्ष २०७९/०८० मा मनाङ र मुस्ताङ जिल्लाबाट कुनै पनि उम्मेदवारहरुले आयोगको परीक्षा पास गर्न सकेनन्। आयोगका अनुसार त्यस आर्थिक वर्षमा आयोगबाट सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष छ।
आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक र खुलातर्फ चार लाख ८३ हजार दुई सय तीन जनाले लोकसेवा आयोगको परीक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए।दरखास्त दिनेहरुमध्ये तीन हजार छ सय ७५ जना उम्मेदवार मात्र पास भएका छन् ।यसबाट आयोगको परीक्षा पास गर्न झनै चुनौतीपूर्ण देखिन्छ। त्यसमा पनि सरकारी सेवामा अवसर पाउनेमा महिला एक हजार ९९ जना र पुरुष दुई हजार पाँच सय ७६ जना रहेका छन्। 

सम्बन्धित समाचार