सर्लाही सदरमुकाम मलंगवामा यातायात व्यावस्था कार्यालय स्थापना

580 Shares

सर्लाही सदरमुकाम मलंगवामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ । तत्कालका लागि जिल्ला समन्वय समिति सर्लाहीको कार्यालयमै कार्यालय रहने गरि आईतबार(आज)जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको हो ।कार्यालयको (आज)आइतबार दिउँसो मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरेका हुन ।जिल्लामा कार्यालय स्थापना भएसँगै यातायात सम्वन्धी सेवा लिन बर्दिवास,जनकपुर,गौर र वीरगन्जलगायतका ठाउँमा धाउनुपर्ने बाध्यता अन्त्य भएको मन्त्री सिंहले बताए । 
कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण,सवारी दर्ता किताब (ब्लु बुक) दर्ता तथा नवीकरण,सवारी साधन सडक ईजाजत पत्र लगायतका सेवा प्रदान गरिने यातायात व्यवस्था कार्यालय मलंगवाका प्रमुख राकेश यादवले जानकारी दिए । उनका अनुसार  यातायात व्यवस्था कार्यालय मलंगवा भए पछि पहिलो चरणमा दुई पाङ्ग्रे सवारीसाधनहरुको सवारी चालक अनुमति पत्र प्रदान गरिने छ ।
मधेश प्रदेशका आठ जिल्लामध्ये सर्लाहीमा सातौँ कार्यालयको रुपमा यातायात व्यवस्था कार्यालय स्थापना भएको हो ।कार्यालय खुल्न बाँकी रहेको बारा सदरमुकाम कलैयामा पनि केही समयभित्रै कार्यालय स्थापना गर्ने तयारी रहेको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले जनाएको छ ।मलंगवाको कार्यालय प्रदेश स्तरको भएपनि यसले देशभरका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने कार्यालय प्रमुख यादवको भनाई छ ।उनका अनुसार आइतबार(आज)औपचारिक रुपमा कार्यालय स्थापना गरिए पनि सेवा प्रवाह सुरु गर्न केही समय लाग्ने छ ।
आफू तत्कालै काठमाडौं पुगेर यातायात व्यवस्था विभागबाट यूजर तथा पासपोर्ट लिएर आउने र सम्भव भएसम्म यसै हप्ताभित्र सेवा प्रवाह सुरु गर्ने कार्यालय प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार कार्यालयको तत्काल आफ्नै सरकारी ट्रायल सेन्टर नभएकाले जिल्लाभर कहिँकतै टायल सेन्टरसँग समन्वय गरिने छ ।

सम्बन्धित समाचार