लालबन्दी– दुम्जा तराई–काठमाडौँ सडक निर्माण हुने

3.3k Shares

सर्लाहीको लालबन्दीबाट सिन्धुलीको मरिण हुदैँ घ्याङ्लेख दुम्जा  जोड्ने करिव ६० किलोमिटर सडकलाई सरकारले बैकल्पिक सहायक राजमार्गको रुपमा निर्माण अगाडि बढाउने भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेट मार्फत् सो मार्गलाई वैकल्पिक सहायक लोकमार्गको रुपमा अगाडि बढाउन लागेको हो । 
सडक विभागका इन्जिनियर अर्जुन पौडेलका अनुसार, आर्थिक वर्ष २०७२÷२०७३ मै मरिण धमिलेदेखि घ्याङ्लेक हुदैँ दुम्जासम्म ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । लालबन्दीदेखि मरिणसम्मको सडक खण्डको विस्तृत अध्ययन प्रतिवेदन निर्माण प्रक्रियामा रहेको छ ।
तराईलाई काठमाडौँसँग जोड्ने मुख्य बैकल्पिक मार्गको रुपमा बीपी राजमार्गको बैकल्पिक सडकको रुपमा लिइएको ११ मिटर फराकिलो सडक तिब्रगतीमा निर्माण तथा पुन निर्माणको काम भई रहेको छ ।बीपी राजमार्गलाई दुम्जासम्म डबल लेनको रुपमा स्तरोन्नति गरेर यो सडकलाई बैकल्पिक मार्गको रुपमा लैजान सकिन्छ । लालबन्दीबाट घ्याङ्लेखको चन्दनपुरहुदैँ दुम्जाको सात दोबाटो जोड्ने सडक सुधार गर्नसके बीपी राजमार्गको चापलाई कम गर्न सकिने जनाकारहरुले बताएका छन ।
सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा सुनकोशी–मरिण डाइभर्सन यसै वर्षबाट सुरु गर्ने योजना रहेकाले बीपी राजमार्गहुँदै पूर्व जाने यातायातको लागि वाइपासको रुपमा सो सडक प्रयोग गर्न सकिने सम्भावना रहेको छ । तराईबाट–काठमाडौँ जोड्ने छोटो मार्गको रुपमा लालबन्दी–मरिण–दुम्जा सडकलाई प्राथमिकतामा पारिएको सिन्धुलीका प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो । यो मार्ग तराईबाट हिमाली जिल्ला जोड्ने छोटो सडक मार्ग समेत हो । यो मार्गको निर्माण पश्चात दुम्जाको खैरेनीघाटहुँदै रामेछापको बेथान भएर दोलखाको चरिकोट छोटो दुरीमा पुग्न सकिन्छ ।
सडक विभागका महानिर्देशक केशवराज शर्माका अनुसार, तराईबाट काठमाडौँ जोड्ने मजबुद बैकल्पिक मार्गको रुपमा लालबन्दी–दुम्जा सडक निर्माण भइरहेको छ । सांसद गजुरेलले यो बाटो बनेपछि मधेशलाई रामेछाप, काभ्रे, दोलखा र सिन्धुपाल्चोकसंग छोटो दुरीबाट जोड्ने बताउनुभयो । सिन्धुलीको हरिहरपुरगढी,मरिण र घ्यांलेखका कृषि उत्पादनलाई तराईका बजार वा काठमाडौँ पुर्याउन यो सडकले महत्वपूर्ण सहयोग पुर्याउने ठम्याई सांसद गजुरेलको छ ।
यसैगरी, महोत्तरीको खयरमाराहुदैँ सिन्धुलीको धापचौकी पाथीपरान, सुलिभञ्ज्याङ  निस्कने बाटोको पनि वैकल्पिक सहायक राजमार्गको रुपमा काम भइरहेको छ । बिगत तीन वर्षदेखि निर्माणमा रहेको यो सडक वैकल्पिक सहायक मार्गका रुपमा बन्ने भएपछि तराई–मधेशसँग ओखलढुंगा, खोटाङ लगायत सिन्धुलीको तीनपाटन, फिक्कल, गोलञ्जोर, दुधौली र कमलामाई सहज यातायातले जोड्ने छ ।

सम्बन्धित समाचार