आन्दोलनरत सर्लाहीका उखु उत्पादक किसानहरुले मंगलबार साँझ राँके जुलुस निकालेका छन् ।गत शनिबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका जिल्लाका उखु उत्पादक किसानहरुले मंगलबार साँझ पुर्व पश्चीम लोकमार्ग स्थित हरिवन बजारमा राँके जुलुस निकालेका हुन । आन्दोलित उखु उत्पादक किसानहरुले पूर्व–पश्चिम लोकमार्गमा राँके जुलुस निकालेका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।उनका अनुसार जिल्लाका उखु उत्पादक किसानहरुले मंगलबार साँझ ५ बजेपछि राँके जुलुश निकालेर विरोध प्रदर्शन गरेका हुन ।
बुधबार दिउँसो पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत हरिवनमा हाईवेमा चक्काजाम गर्ने कार्यक्रम रहेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।जिल्लाका उखु उत्पादक किसानहरुले उठाएको माग सम्वोधन नहुँदा सम्म आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी रहने नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।
त्यसैगरी हरिवन नगरपालिका ११ निवासी नेकपा(माओवादी केन्द्र) का नेता शेष इस्तिहारले इन्दु शंकर चिनी उद्योग हरिवनको गेटमा सोमबारबाट आमरण अनसन सुरु गरेका छन् ।विभिन्न ६ बुँदे माग राख्दै माओवादी केन्द्रका नेता इस्तिहारले सोमबारबाट आन्दोलन सुरु गरेका हुन । यता,माओवादी केन्द्रकाअध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड”को पहलमा बालुवाटारमा अर्थ,कृषि तथा पशुपंक्षी मन्त्री तथा विभिन्न मन्त्रालयका सचिव विच उखु उत्पादक किसानहरुले गत वर्ष बिक्रि गरेको उखुको अनुदान वापतको राज्यले दिनुपर्ने रकम रु ५२ करोड तत्काल भुक्तानी गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
तर सो निर्णयपछि पनि उखु उत्पादक किसानहरुको आन्दोलन रोकिएको छैन् । उखु उत्पादक किसानहरुकोे खातामा अनुदान वापतको रकम नआउँदासम्म र चालु सिजनका लागि उखुको समर्थन मूल्य रु सात सय ५० नतोकिंदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष मैनालीले बताए ।उनका अनुसार धमाधम उखु काटेर बेच्नुपर्ने समयमा गत वर्षको अनुदान रकम र चालु सिजनका लागि उखुको मूल्य कायम गर्नुपर्ने माग गर्दै उखु उत्पादक किसानहरु सडक आन्दोलनमा उत्रिएका हुन ।खेतको उखु काट्न ढिलो भएर तौल घट्दै गएको उखु उत्पादक किसानहरुलाई पीडा भएपनि बेचेको उखुको अनुदान वापतको रकम र चालु सिजनको उखुको मुल्य निर्धारण नहुँदा सम्म आन्दोलन जारी राख्ने उखु उत्पादक किसानहरुले बताएका छन् ।
आन्दोलनका कारण उखु किसानहरुले उखु नल्याउँदा देशकै सबैभन्दा ठूला इन्दु शंकर चिनी उद्योग हरिवन,सर्लाही र एभरेष्ट चिनी उद्योग रामनगर, महोत्तरीले पुस लागि सक्दा पनि उखु क्रसिङ सुरु गर्न पाएका छैनन् । उखु उत्पादक किसानहरुले चालु सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्नुपर्ने,गत वर्ष बिक्रि गरेको उखुको अनुदान वापतको रकम रु ५२ करोड अथासिघ्र भुक्तानी गर्नु पर्ने लगाएका माग राखि सडक तताई रहेका छन् ।गत वर्ष उखुको प्रति क्विन्टल मूल्य अनुदान सहित रु छ सय १० कायम भएको थियो भने चालु सिजनमा उखु उत्पादन गर्न लागत बढेका कारण मुल्य पनि बढाउनु पर्ने उखु उत्पादक किसानहरुको माग रहेको छ ।
सर्लाहीमा रहेका इन्दुशंकर चिनि उद्योग हरिवन,महालक्ष्मी चिनी उद्योग र अन्नपूर्ण चिनी उद्योग गरी तीनवटा चिनी मिलमा गत वर्ष उखु बेचेका १७ हजार ३० जना किसानहरुले प्रति क्विन्टल अनुदान वापतको रकम रु ७० का दरले वितरण गर्न रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ रुपैँयाँ ३० पैसा निकासा हुनुपर्नेमा हाल सम्म कोलेनिकामा रु नौ करोड ११ लाख २६ हजार छ सय ३८ रुपियाँ मात्रै प्राप्त भएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर मन्त्रालयबाट प्राप्त सो रकम जिल्लाका उखु उत्पादक किसानहरुलाई ३० प्रतिशतका दरले वितरण गर्ने निर्णय गरेपछि कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीले आफूलाई प्राप्त सबै अनुदान रकम बाँडेर सकिसकेको जनाएको छ । जिल्लाका उखु उत्पादक किसानहरुका लागि मात्रै करिब रु २० करोड १४ लाख २६ हजार एक सय ११ रुपियाँ ३० पैसा अनुदान रकम आउन बाँकी रहेको कोष तथा लेखा नियन्त्रण्क कार्यालय सर्लाहीका प्रमुख एवम कोष नियन्त्रक निर्मल न्यौपानेले बताए।