Close This

सर्लाहीमा बुधबार २० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६१४

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१० गते   ३०८ पटक हेरिएको

जिल्लामा बुधबार २० जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौंमा थ्रोट स्वाब परीक्षण गर्दा जिल्लाको विष्णु गाउँपालिकाका १८ जना र कौडेना गाउँपालिकाका २ जना गरी २० जनामा संक्रमण पाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनु भयो । जिल्लामा अब कोरोना संक्रमितको संख्या ६१४ पुगेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भयो ।
बुधबारसम्म जिल्लाका विभिन्न आइसोलेसनबाट नेपाल सरकारको आइसोलेसन मापदण्ड अनुसार ३८९ जना संक्रमितलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनु भयो । उहाँका अनुसार डिस्चार्ज भएकामध्ये केही संक्रमणमुक्त भएका व्यक्ति रहेका छन भने केहीलाई सरकारको मापदण्डलाई टेकेर दोस्रो पटक थ्रोट स्वाब परीक्षण नै नगराई आइसोलेसनमा निश्चित समय बसेपछि घर पठाइएको हो ।
दिनहुँ सङ्क्रमित बढ्दै गइरहेको  भएपनि जिल्लामा लामो दुरीका सार्वजनिक यातायातका साधन र मानिसको धेरै भीडभाड हुने जिल्ला प्रशासन एवं ईलाका प्रशासन, नापी र मालपोत कार्यालय बाहेक अन्य सबै कार्यालय एवं निकायहरु खुलिसकेका छन् ।
शहर बजार र सडकमा मानिसको चहलपहल पहिले झैं देखिन थालिसकेको छ । व्यापार व्यवसाय पनि पहिलाकै अवस्थामा फर्किएको छ । लकडाउन खुुकुलो पारेपछि सङ्क्रमणको ख्याल नै नगरी लापरवाही किसिमले हिँड्डुल गर्नेहरु बढेका छन् । जसका कारण कोरोना संक्रमण थप बढ्ने देखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech