सुरक्षाकर्मी परिचालन गरेर लालबन्दी १२ जियाजोर क्षेत्रमा पोल गाड्ने काम सुरु

411 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १२ स्थित जियाजोर क्षेत्रमा हेटौँडा–ढल्केवर–इनरुवा चार सय केभी राष्ट्रिय प्रसारण लाइनको पोल गाड्ने काम सुरु भएको छ ।हेटौँडा–ढल्केवर–इनरुवा चार सय केभी राष्ट्रिय प्रसारण लाइन आयोजना अन्र्तगतको लालबन्दी नगरपालिका १२ स्थित जियाजोर क्षेत्रमा मुआब्जाको माग गर्दै स्थानीयले अवरोध गरेपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको वेश क्याम्प राखेर पोल गाड्ने काम सुरु भएको आयोजनाका सहायक प्रशासकीय प्रमुख श्रीराम घिमिरेले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका १२ स्थित जियाजोर क्षेत्रमा हेटौँडा–ढल्केवर–इनरुवा चार सय केभी प्रसारण लाइन आयोजना अन्र्तगत गाड्नु पर्ने सातवटा पोलहरुको क्षेत्रबाट आफुहरुले उचित मुआब्जा पाउनु पर्नेमा नपाएको र पोल गाड्ने क्षेत्रमा बस्ती तथा विद्यालय रहेका कारण अन्यन्त्रबाट पोल लैजान भन्दै स्थानीयले पोल गाड्ने काममा अवरोध गरेका थिए । 
सो क्षेत्रमा करिब २५ वर्ष पहिला सर्वे गरिएको र सो समयमा घरहरु निर्माण नभएकामा अहिले घरहरु बनेका तथा नीजि विद्यालय समेत निर्माण भएकाले स्थानीयले अन्यन्त्रबाट पोल लैजान भनेका लालबन्दी नगरपालिका १२ का वडा अध्यक्ष दुर्गा बहादुर आले मगरले बताए ।उनका अनुसार सो क्षेत्रमा सात वटा पोलहरु गाड्नु पर्नेमा दुई वटा पोलहरुमा मात्रै समस्या देखिएको हो । विगत करिब २५ वर्ष पहिला सर्वे भएको र सो समयमा घरहरु निर्माण नभएका भएपनि हाल घरहरु निर्माण भएका कारण स्थानीयले पोलहरु अन्यन्त्रबाट लैजान माग गरेका र सो नहुँदा राज्यले उचित मुआब्जा दिनुपर्ने स्थानीयको माग रहेको वडा अध्यक्ष आले मगरले बताए ।
सो क्षेत्रमा हेटौँडा–ढल्केवर–इनरुवा चार सय केभी राष्ट्रिय प्रसारण लाइनको पोल गाड्ने क्षेत्रमा ५२ जना सुरक्षाकर्मीहरु वेश नै राखेर सुरक्षा व्यावस्था गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।उनका अनुसार पोल गाड्ने क्षेत्रमा २७ जना नेपाल प्रहरी र २५ जना शसस्त्र प्रहरी गरी ५२ जना सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
यस रुट अन्तर्गत सो क्षेत्रमा मात्र पोल गाड्न बाँकी रहेको र केन्द्रीय निर्देशन अनुसार स्थानीयसगँको सहकार्यमा सुरक्षा व्यावस्था सहित पोल गाड्ने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताए ।उनका अनुसार आयोजनाले पोल गाड्न करिब डेढ महिना लाग्ने बताएको र राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको प्रसारण लाइन निर्माणको काममा केन्द्रबाटै निरिक्षण समेत भएको छ ।नेपालको उत्पादित विद्युतलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने यो आयोजना समयमै निर्माण सम्पन्न नभए एकातर्फ उत्पादित विद्युत् खेर जाने र अर्कोतर्फ लोडसेटिङको समस्या व्यहोर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाका प्रशासकीय अधिकृत घिमिरेले बताए ।

सम्बन्धित समाचार