Close This

नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११

पत्र पत्रिका    प्रकाशित: २०७७-२-१९ गते   २५५ पटक हेरिएको

 नेपालमा सोमबार थप २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै ५९ जिल्लाका एक हजार ८११ जनामा संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तु, दैलेख र सर्लाहीमा बढी संक्रमित भेटिएको जानकारी दिए ।

दैलेखमा ४१, कपिलवस्तुमा ४०, सर्लाहीमा ३८, रौतहटमा १८, कैलालीमा १४, जुम्लामा १९, दाङमा ९, बाँकेका ७, सल्यानमा १०, सुर्खेतमा र सिरहामा ५/५ जना, धनुषामा ७, नवलपरासीमा ३, झापा र महोत्तरीमा २/२ जना, मकवानपुर, अछाम, बैतडी, कञ्चनपुर र डोटीमा एक/एकजना र उदयपुर घर भएका तर हाल जनकपुर बस्ने एकजनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्राप्त पछिल्लो विवरणअनुसार पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।मन्त्रालयले संक्रमितको संख्या बढेसँगै ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’को व्यवस्था बढाउनुपर्ने जनाएको छ ।

प्रवक्ता डा. देवकोटाले क्वारेन्टाइनको सम्पूर्ण व्यवस्था प्रदेश सरकारको सहयोगमा स्थानीय तहले सञ्चालन गराउनुपर्ने र मापदन्ड पुगे/नपुगेकोबारे अनुगमन गर्न पनि आग्रह गरे ।क्वारेन्टाइन मापदण्ड पूरा नगरेको भन्ने गुनासो आएको भन्दै उनले कुन–कुन कुरा पुगेको छैन, त्यसबारे मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे ।

यस्तै, अब अस्पतालमा बिरामी र संक्रमितहरुलाई छानेरमात्र राखिने रणनीति अपनाउने तयारी भएको डा. देवकोटाले जानकारी दिए ।हालसम्म देशभर ७१ हजार ९०३ जनाको ‘पीसीआर’ परीक्षण भएको छ भने एक लाख १३ हजार ७५७ जनाको ‘आरडीटी’ परीक्षण भएको छ ।

यस्तै, गर्मी बढेसँगै मलेरिया र डेंगी रोगको संक्रमणसमेत बढेको जनाइएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले हाल गत पुसदेखि २६ जिल्लाका ८२ जनामा डेंगी देखिएको जानकारी दिए । तीमध्ये २१ जना क्वारेन्टाइनमा रहेका व्यक्ति छन् ।गत वर्ष १६ हजार व्यक्तिमा डेंगी देखिएको थियो भने ६ जनाको मृत्यु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech