सर्लाही जिल्ला लिग फुटबलको उपाधि लालबन्दी १७ को युनिक फुटबल क्लबको हातमा

96 Shares

सर्लाही जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ को उपाधि लालबन्दी नगरपालिका १७ को युनिक फुटबल क्लबले हात पारेको छ।लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण फुटबल मैदानमा शुक्रबार(आज)सम्पन्न फाइनल खेलमा जनज्योति स्पोर्टस् क्लब लालबन्दी नगरपालिका ९ बस्तीपुरलाई १–० गोल अन्तरले पराजीत गर्दै लालबन्दी नगरपालिका १७ को युनिक फुटबल क्लब च्याम्पियन बनेको सर्लाही जिल्ला फुटबल संघका उपा अध्यक्ष विभुसिंह थापाले जानकारी दिए ।
उनका अनुसार खेलको ५१ औँ मिनेटमा डम्बरबहादुर विश्कर्माले गोल गरेपछि जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ को उपाधि लालबन्दी नगरपालिका १७ को युनिक फुटबल क्लबले हात पारेको हो।जितसँगै युनिक फुटबल क्लब लालबन्दी नगरपालिका १७ ले रु ५० हजार नगदसहित प्रथम ट्रफी उचालेको छ भने उपबिजेता जनज्योति स्पोर्टस् क्लब लालबन्दी नगरपालिका ९ ले रु २५ हजार नगदसहित दोस्रो ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ ।
अन्तीम खेलमा बिजेता क्लबका लागि निर्णायक गोल गर्ने विश्वकर्मा नै “म्यान अफ दि म्याच” घोषित भएका छन् भने प्रतियोगितामा वेष्ट गोलकिपर युनिक फुटबल क्लबका चित्रकुमार राना मगर,वेष्ट डिफेण्डर जनज्योति स्पोर्टस् क्लबका विकास हेन्जन,वेष्ट मिडफिल्डर जनज्योतिकै लक्की स्याङतान,वेष्ट फरवार्ड युनिक फुटबल क्लबका अमृत गौतम, प्रतियोगिताको सर्वाधिक गोलकर्ता युनिकका सविन बलले चार गोल,वेष्ट प्रशिक्षक युनिककै श्याम कटुवाल र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा युनिक फुटबल क्लबकै डिफेण्डर विकास माझी घोषित भएका सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुरबहादुर सुस्लिङ (विष्णु)ले जानकारी दिए ।
उनीहरु प्रत्येकलाई जनही रु दुई हजार एक सय सहित पुरस्कृत प्रदान गरिएको छ।जिल्ला फुटबल लिगको समापन समारोहमा भर्खरै बि डिभिजनमा बढुवा हुन सफल सर्लाहीको बागमती युवा क्लब र क्लबका खेलाडीलाई पनि सर्लाही जिल्ला फुटबल संघले सम्मान पत्रसहित शुक्रबार(आज) नै सम्मान गरेको सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष सुस्लिङले बताए ।
सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष सुस्लिङको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ(एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङको प्रमुख आतिथ्यतामा सर्लाही जिल्ला लिग फुटबलको आयोजनामा असार ५ गतेबाट सुरु भएको प्रतियोगिता असार २१ गते शुक्रबार(आज) सम्पन्न् भएको हो । प्रतियोगितामा जिल्लाका नौ वटा टिमहरुको सहभागिता रहेको सर्लाही जिल्ला फुटबल संघका महासचिव कुलप्रसाद गौतम (शिवहरि) ले जानकारी दिए ।
सर्लाही जिल्ला लिग फुटबल प्रतियोगिताको समापन समारोहमा एन्फा उपाध्यक्ष दावा लामा,मधेश प्रदेश अध्यक्ष नेपाल कार्की, ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यलगायतको विशेष आतिथ्यता रहेको आयोजकले जनाएको छ। 

सम्बन्धित समाचार