राष्ट्रिय प्रजातान्त्र पार्टी सर्लाहीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ।राप्रपा केन्द्रीय समितिको निर्देशन अनुसार देशैभरीका ७७ वटै जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार“गणतन्त्र धोका हो,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,भ्रष्ट सरकार मुर्दावाद,गिरफ्तार गरीएका नेताहरुलाई विनासर्त रिहा गर,प्रहरी दमन बन्द गर,आर्यघाटले के भन्छ केपी शर्मा ओलीले भन्छ,हिन्दु राष्ट कायम गर र ज्यानमारा सरकार मुर्दावाद”लगायतका नारा लगाउदै जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेका राष्ट्रिय प्रजातान्त्र पार्टी सर्लाहीका नेता कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुझाईएको राप्रपा सर्लाहीका अध्यक्ष सत्यनारायण राय यादवले जानकारी दिए ।

केन्द्रीय सर्कुलर अनुसार सर्लाहीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएपछि नारा जुलुस सहित बजारको परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय मलंगवा अगाडि धर्ना सुरु गरिएको राष्ट्रिय प्रजातान्त्र पार्टी सर्लाहीका उप अध्यक्ष ढोलराम बारकोटीले बताए ।

राष्ट्रिय प्रजातान्त्र पार्टी सर्लाहीले प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा“चैत १५ गते तिनकुने र कोटेश्वर क्षेत्रमा प्रदर्शनकारीहरूले आफ्नो सभा सुरु गर्ने क्रममा राष्ट्रियगान गाउन सुरु गरेको बेला प्रदर्शनलाई हिंसात्मक बनाउन राज्यपक्षबाट मञ्चलाई लक्षित गरेर सर्वसाधारणको घरको छतबाट अन्धाधुन्द म्याद सकिएका अश्रु ग्यासका सेलहरूको वर्षा गर्नु,सबिन महर्जनलाई ताकेर गोलिहानी हत्या गरिनु,आँखै अगाडि घर आगलागी हुँदा र उक्त घरमा मानिस रहेको जानकारी पाउँदा पनि नियन्त्रण र उद्दार गर्न नसकेर पत्रकार सुरेश रजकको ज्यान जानु,कार्यक्रमसँग कुनै सम्बन्ध नरहेका र कार्यक्रम स्थलबाट धेरै टाढा रहेका रेविका खत्री र उनका दाइलाई गोली हान्नु,प्रहरीले अलग अलग ठाउँमा चलाएको गोलीबाट दुई दर्जनभन्दा बढी मानिसहरू घाइते हुनु,प्रहरीले नै पत्रकारलाई उपलब्ध गराएको विवरण अनुसार निहत्था प्रदर्शनकारीहरू माथि चैत्र १५ गते एकै दिन ७४६ राउन्ड अश्रुग्यास, १९२ ब्ल्याक राउन्ड फायरिङ, ५८ राउन्ड हवाई फायर, कार्टिज (छर्रा ) २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको नेपाल प्रहरीको विवरण हो।सशस्त्र प्रहरीबाट चलेको गोलीको विवरण अझै सार्वजनिक भएको छैन।नेपाल प्रहरीकै गोप्य भनिएको प्रतिवेदन अनुसार यो संख्या अझ बढी छ।चैत्र १५ गते यति धेरै फायरिङ गर्नुपर्ने अवस्था किन आयो ? प्रदर्शनकारी पछि हटिरहेका बेला पनि किन गोली चल्यो ?गल्लीमा रहेका आमनागरिक पनि कसरी घाइते भए? सभामा भाग लिएको, प्रदर्शनमा सहभागी भएको जस्ता आधारमै राप्रपा नेता रविन्द्र मिश्र र धवल शमशेर राणा लगायतलाई “राज्य विरुद्धको अपराध“जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो ?यस्ता प्रश्नको उचित जवाफ नआएसम्म सरकार स्वयं उक्त दिनको प्रदर्शनलाई हिंसामा परिणत गर्न योजनाबद्ध तयारीमा थियो भन्ने अभियोगबाट मुक्त हुन सक्ने देखिँदैन।सरकारको उक्त क्रियाकलाप प्रजातन्त्र,मानव अधिकार र विचार अभिव्यक्तिको स्वतन्त्रताका विरुद्ध देखिन्छ । हामी यस प्रकारको विचार अभिव्यक्ति स्वतन्त्रता मानव अधिकार र प्रजातन्त्र विरुद्धको सरकारी क्रियाकलापको भत्सर्ना गर्दछौं ।
भविष्यमा यस प्रकारका घटनाहरू नदोहोरीनका लागि उक्त दनिको घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन लगायतका निम्न बुँदाहरू नेपाल सरकार समक्ष राप्रपा माँग गर्दछ।पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग नागरिक समाज समाविष्ट स्वतन्त्र छानबिन आयोगको गठन गर्नु पर्ने,छानबिनका लागि गृहमन्त्रीको राजीनामा हुनुर्पे,चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी र प्रशासनको नेतृत्वको निलम्बन गर्नुपर्ने,मृतकहरू सबका महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्ति को व्यवस्था गर्नुपर्ने,झुठा मुद्दा खारेजी र निर्दोषहरूको रिहाई गर्नुपर्ने,घाइतेहरूको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नु पर्ने र पार्टीले पेश गरेका ४० बुँदे मागहरूमा नवीन समझदारीका लागि वार्ता टोलीको गठन गर्नु पर्ने छ ।”भनिएको छ ।