सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका ६ का अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको छ।बरहथवा नगरपालिका ६ स्थित रहेको १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर ५० शैयाको प्रादेशिक अस्पताल बनाउने र प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा झडप भएपछि प्रहरीले १९ सेल अश्रुग्यास र १३ राउण्ड हवाई फायरको गरेको थियो ।प्रदर्शनकारीहरुले प्रहरीले बोकेको हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धितालले जानकारी दिए।“प्रदर्शनकारीले हतियार खोस्न खोजेपछि गोली चलाउने अवस्था आयो ।”प्रहरी उपरिक्षक धितालले बताए ।
प्रदर्शनकारीले बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालको घरसँगैको टहरो र गाडी जलाएका छन् ।प्रदर्शनमा सहभागी दुईजना घाइते भएका छन् ।सुरक्षाकर्मी तर्फ ८ जना प्रहरी घाइते भएको प्रहरी उपरिक्षक धितालले बताए ।प्रहरी सहायक निरीक्षक भिखारी यादव गम्भीर घाइते छन् ।उनलाई उपचारका लागी वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।झडपपछि स्थानीय प्रशासनले बरहथवा नगरपालिका क्षेत्रमा कफ्र्यु लगाएको छ । बरहथवा नगरपालिका क्षेत्रमा शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।