राष्ट्रिय सभा निर्वाचनमा एक सिट एमाले बाँकी गठबन्धनका उम्मेदवार विजयी

303 Shares

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एक सिट बाहेक गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएक्का छन् ।१९ सिटका लागि आज(बिहीबार)भएको मतदानमा १८ जना गठबन्धनबाट र एक जना नेकपा(एमाले)बाट निर्वाचित भएका निर्वाचन आयोग नेपालले जनाएको छ ।आज(बिहीबार) बिहान भएको मतपरिमाण अनुसार कोसी प्रदेशको एक सिट बाहेक सबै ठाउँमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।कोसी प्रदेशमा महिलातर्फ गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा(माओवादी केन्द्र)की चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत समर्थन पाएकी कोइरालाले पाँच हजार ८६ र काँग्रेस,नेकपा(एकिकृत समाजवादी)र जनता समाजवादी पार्टी(जसपा)को समर्थनमा माओवादी केन्द्रकी कार्कीले चार हजार नौ सय ९२ मत भार पाएकी निर्वाचन आयोगले जनाएको छ ।
यस्तै,अन्यतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उद्धव पौडेललाई हराउँदै काँग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन्।कांग्रेसका सिटौलालाई पनि गठबन्धनका दुई सांसदले फ्लोर क्रस गरेर पौडेललाई मत दिए पनि स्थानीय तह तर्फबाट भने गठबन्धन अनुसार नै मत खसेको थियो । सिटौलाले कुल पाँच हजार दुई सय ९२ र पौडेलले चार हजार पाँच सय ६२ मतभार पाएका छन् ।
यस्तै,मधेस प्रदेशमा कांग्रेसका आनन्दप्रसाद ढुङगाना र जनता समाजवादी पार्टी(जसपा)की पूजा चौधरी विजयी भएका छन् ।ढुङानाले सात हजार तीन सय ७० र चौधरीले सात हजार नौ सय २३ मतभार पाएका छन् ।यस्तै,बागमती प्रदेशमा महिलातर्फ कांग्रेसका विष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत, अपाङ्गता तर्फ नेकपा (माओवादी केन्द्र)का श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ नेकपा(एकिकृत समाजवादी)का घनश्याम रिजाल विजयी भएका निर्वाचन आयोगले जनाएको छ ।
विजयी पुडासैनीले छ हजार छ सय २२,बस्नेतले छ हजार पाँच सय ३१, अधिकारीले छ हजार तीन सय ८३ र रिजालले छ हजार पाँच सय १२ मतभार प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी,गण्डकी प्रदेशबाट गठबन्धनका तीन जना उम्मेदवार विजयी भएका छन् ।अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ,अपाङगता÷अल्पसङ्यकतर्फ कांग्रेसका पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ । श्रेष्ठले तीन हजार आठ सय आठ र एमालेका चक्रबहादुर पराजुलीले दुई हजार चार सय ७७ मतभार पाएका छन् ।यस्तै,काँग्रेसका परियारले तीन हजार सात सय ७९ र एमालेका हेमन्द्र शेरचनले दुई हजार चार सय ५८ मतभार पाएका छन् ।महिलातर्फ माओवादी केन्द्रकी शर्माले तीन हजार छ सय ६० र  एमालेकी सम्झना देवकोटाले दुई हजार पाँच सय ५३ मतभार पाएका छन् ।
लुम्बिनी प्रदेशमा कांग्रेसका विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कु सुवेदी निर्वाचित भएका छन् ।कर्णालीबाट पनि गठबन्धनका उम्मेदवार नै विजयी भएका छन् ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ नेकपा(एकिकृत समाजवादी)की सावित्री मल्ल, दलिततर्फ माओवादी केन्द्रका विष्णु विक र अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाय विजयी भएका छन् ।यसैगरी,सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्द,अपाङ्गता तर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ काग्रे्रेसकै बलदेव बोहरा विजयी भएका निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार