“मुख्यमन्त्री बेटी पढाऊ,बेटी बचाऊ”अभियानका लागि खरिद काण्डमा सचिव भुसाल र झालाई कैद,जरिवाना घोषणा

211 Shares

मधेश प्रदेश सरकारले “मुख्यमन्त्री बेटी पढाऊ,बेटी बचाऊ”अभियानका लागि खरिद गरेको साइकलमा भ्रष्टाचार भएको भन्दै दुई जनालाई तीन–तीन महिना कैद सजाय सुनाएको छ ।साईकल खरिदमा रु १० करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धामा मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमलाल भुसाल र जलस्रोत,सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरकाका तत्कालीन प्रमुख भगवान झालाई दोषी ठहर गर्दै तीन–तीन महिना कैद सजाय सुनाएको हो ।
छात्रालाई लक्षित गर्दै मधेश प्रदेश सरकारले गरेको खरिद गरेको साइकलको गुणस्तरमाथि प्रश्न उठेको थियो।प्रदेशका छात्राहरूलाई विद्यालय जान भनी कम्पनी नखुलाई खरिद गरिएको साइकल खरिदमा रु १० करोड भन्दा बढी भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।  विशेष अदालतका अध्यक्ष  अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू न्यायाधीश तेज नारायण सिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासबाट मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव भुसाल र जलस्रोत,सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरकाका तत्कालीन प्रमुख झालाई दोषी ठहर गर्दै तीन–तीन महिना कैद सजाय सुनाएको साथै,दुवै जनालाई रु दश–दश हजार जरिवानाको पनि फैसला भएको छ ।माघ ८ देखि लगातार तीन दिनसम्म सुनुवाइ भएको थियो ।
पहिलोमा सचिव भुसाल,झा,सह लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहन कुमार दास,रेनु अग्रवाल र श्री ओम सत्यसाई प्राइभेट लिमिटेडलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । यसैगरी,सहलेखापाल मण्डल,भण्डार तथा जिन्सी शाखा प्रमुख महतो, भण्डार शाखाका खरिदार दास,अग्रवाललाई पनि प्रतिवादी बनाएर अख्तियारले अर्काे मुद्धा २०७९ साउन १८ मा विशेष अदातलमा दायर गरेको थियो।
बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरू उपसचिव दिलीपकुमार प्रधान, अधिकृत सुरेन्द्र कुमार कर्ण,सहलेखापाल मण्डल र झामाथि पनि अख्तियारले मुद्दा दायर गरेको थियो तर सो मुद्धामा भने सबैले सफाइ पाएका छन्।यसैगरी,अर्कोमा झा,प्रधान,कर्ण र मण्डललाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो। उनीहरू चारै जनाले मापदण्ड नपुग्दासमेत बदनियतपूर्ण भूमिका खेलेकाले मुद्दा चलाएको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार