जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले कार्यालय परिसरमा लामो समयदेखि बेवारिसे अवस्थामा थन्किएका सवारी साधनहरुको हकदाबी सम्बन्धी सूचना जारी गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही र मातहतका कार्यालयहरुबाट सवारी साधन चेकजाँचको क्रममा तथा बेवारीसे अवस्थामा फेला पारी विगत लामो समयदेखि कार्यालयको नियन्त्रणमा रहेका ४४ वटा विभिन्न कम्पनीका मोटरसार्यकलहरुको हकदाबी सम्बन्धी सूचना जारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक मदन थापाले जानकारी दिए ।
उनका अनुसार बजाज,होण्डा,टिभिएस,हिरो र यमाहा कम्पनीका ४४ वटा मोटरसाईकलहरु लामो समयदेखि कार्यालय परिसरमा बेवारिसे अवस्थामा थन्किएका भएपनि कोहीपनि हकदाबी गर्न नआएपछि सूचना जारी गरिएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जारी गरेको सूचनामा विगत लामो समयदेखि कार्यालय परिसरमा बेवारिसे अवस्थामा थन्किएका मोटरसाईकलहरुको सम्बन्धमा कोही कसैले हकदावी गर्न नआएकोले उल्लेखित सवारी साधनहरु कोही कसैको भए सो को प्रमाण पुग्ने सक्कल कागजात सहित यस कार्यालयमा सम्पर्क राखि बुझि लैजान हुनका लागि भन्दै १५ दिने सूचना प्रकाशित गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।
तोकिएको समय सिमाभित्र हकदावी गर्न नआएमा सरकारी सम्पती तथा जिन्सी माल सामान लिलाम बिक्री सम्बन्धी कार्य बिधि २०७९ को परीच्छेद ३ को दफा २० को उपदफा १,२ र ३ मा व्यवस्था भए बमोजिम आवश्यक प्रक्रियामा जाने समेत सूचनामा उल्लेख गरिएको छ ।