सर्लाहीका प्रहरी उपरीक्षक ज्ञवालीले सई यादवकाे नेतृत्वमा तयार पारे घुमुवा टाेली

851 Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली आएपछि सर्लाहीका नाकाहरुमा तस्करहरुले अखडा जमाउन थालेका छन् ।करिब दश दिन पहिला मात्र जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुख भई आएका प्रहरी उपरीक्षक ज्ञवालीले आए लगतै तस्करहरुलाई तस्करीको बाटो खुल्ला गर्न घुमुवा छान्न थालेपछि सर्लाहीका नाकाहरुमा तस्करहरुले अखडा जमाउन थालेका हुन् ।
उनले यस अघि घुमुवाको काम गरि रहेका घुमुवा प्रहरीहरुलाई हटाएर आफु अनुकुलका प्रहरी अधिकारीहरुलाई घुमुवाको रुपमा परिचालन गर्ने तयारी गरेका छन् ।प्रहरी संगठनको नीतिमा घुमुवा वा सादा पोशाकमा प्रहरी परिचालन गर्न नपाइने भएपनि प्रहरी उपरिक्षक ज्ञवालीले तीनजनालाई मुख्य घुमुवा राख्ने तयारी गरेका छन् ।
हाल ईलाका प्रहरी कार्यालय हिरनपेरका प्हरमुख रहेका सई माेहन यादवकाे नेतृत्वमा हबल्दारद्वय विजय यादव र बच्चालाल यादवलाई मुख्य घुमुवा राखेका छन्।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाही बोलाएर प्रहरी उपरिक्षक ज्ञवालीले घुमुवा राखेका प्रहरी स्राेतकाे दावी छ ।
प्रहरी उपरीक्षक नरेश राज सुवेदी र प्रवीण धिताल सर्लाहीमा रहँदा कुना पसेका तस्करहरु प्रहरी उपरीक्षक ज्ञवालीको आवागमन पछि हौसिएका छन्।प्रहरी उपरीक्षक सुवेदी र धितालले  जो प्रहरी प्रमुख सर्लाही आए पनि सर्लाहीमा लाइन मिलाएर कमिसन असुलीमा लाग्छन् भन्ने रेकर्ड तोडेर तस्करहरुलाई कुना पस्न बाध्य बनाएका थिए तर प्रहरी उपरीक्षक ज्ञवाली सर्लाही आएपछि ती तस्करहरु फेरि सल्बलाउन थालेका हुन् ।
करिब ५१ किलो मिटर भारतसंग खुल्ला सिमाना रहेको सर्लाहीको सबै नाकाबाट प्रहरीको संरक्षणमा पुनःतस्करी सुरु हुने भएको छ।नेपाल सरकारका उप प्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)ले तस्करी रोक्न भन्दै मधेश प्रदेशको सुरक्षा बैठकमा कडा निर्देशन दिएका भए पनि मधेश प्रदेशका कुनै पनि नाकामा तस्करी रोकिएको छैन । 
जिल्लाको पुर्व संग्रामपुरदेखि पश्चीम छतौना सम्मको नाकाबाट भारतीय सामग्रीहरू रड, कपडा,सिमेन्ट,चिनी,तेल,चामल,मलखाद्य,धान,आलुप्याजका साथै स्पेयर पार्टस्,कुखुरा,कुखुराका चल्ला,अण्डा तथा किरानाका सामानहरुका साथै सुर्तीजन्य पदार्थहरु तस्करहरुले नेपाल ल्याउने र नेपालबाट सुपारी,मरिच,मदिरा,अलैंची,चाइनिज इलेक्ट्रोनिक सामग्रीहरू,कस्मेटिकका  साथै गिट्टी र बालुवा भारत तर्फ पुर्याउने गरेका थिए ।
 तस्करहरूले दिनहुँ खुलेआम भारतीय सामग्रीहरू अवैध रुपमा नेपाल भित्र्याउने र यताबाट भारततर्फ निकासी गर्ने गर्दा सरकारलाई प्राप्त हुने करोडौं रुपैँया राजश्व चुहावट हुने गरेको थियो । तस्करहरुले तस्करीको सामानहरू जिल्लाको लालबन्दी,हरिवन,बयलवास र बरहथवाका साथै सिन्धुली,रामेछाप,दोलखा र काठमाडौं सम्म पुर्याउने गरेका व्यापारीहरुले  नै बताएका छन् ।जिल्लाका होटलहरु,मदिरा भट्टी,नदीजन्य पदार्थ र जिल्लाका गोरु बजारहरुका साथै खसी बाख्रा बजारबाट समेत प्रहरी उपरिक्षक ज्ञवालीको निर्देशनमा कमिसन असुली सुरु हुने भएको स्रोतको दाबी छ ।उनले जिल्लाका तस्करहरुलाई भेटेर समाचारहरु आउन थालेका छन् । समस्या नहाेस मिलाएर काम गर्नु तस्करहरुलाई भनेका छन् ।
के छ प्रहरी उपरिक्षक ज्ञवालीको विगत ?
तत्कालीन प्रहरी निरिक्षक भई हुसोहखुट्टेको प्रमुख सम्हालेको समयमा हप्ते असुलीमा लागेका र प्रहरी नायव उपरीक्षक हुँदा ललितपुर प्रहरी परिसर जावलाखेलमा अपराधिक गतिविधिमा संलग्नहरुसँग साँठगाँठ र उठबस गरेको पाइएपछि उनी कारबाहीमा समेत परेका थिए ।कडा कुरा गर्न माहिर प्रहरी उपरिक्षक ज्ञवालीले केही दिन पहिला सर्लाहीका सञ्चारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा जिल्लाका नेता,मन्त्री,जनप्रतिनिधिहरुका साथै पत्रकारहरुले दवाव नदिए गैर कानुनी गतिविधिहरु पुर्ण रुपमा नियन्त्रण गर्ने बताएका थिए तर घुमुवा छनोट सुरु गरेपछि उनको गफ “काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर”भने झैँ हुने आशंका सुरु भएको छ ।

सम्बन्धित समाचार