सर्लाहीमा पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरु बढेका पाइएको छ।चालु आर्थिक वर्षको सात महिनामा जिल्लामा चार सय ८६ वटा सवारी दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको र पाँच सय भन्दा बढि घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले जनाएको छ ।
जिल्लामा ट्राफिक नियमको जान अन्जानमा उल्लंघन गर्दा सवारी दुर्घटनाहरु बढेका ट्राफिक प्रहरीको अनुमान छ ।जिल्लामा भारतिय नम्बरका सवारी साधनहरुको व्यापक मात्रामा प्रयोग,सवारी चालक अनुमती पत्र नभएका चालकहरुका साथै मद्यपान गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेहरुका कारण सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना भई घाईते हुनेहरुमा प्रायजसो १५ देखि २२ वर्ष उमेर समुहका युवाहरुको संख्या बढि रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।तिव्र गतिमा सवारी चलाउने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउदा सर्लाहीमा सवारी दुर्घटनामा बृद्धि भएको पटेलले प्रादेशिक अस्पताल मलंगवा सर्लाहीका मेडिकल सुपरिटेन्डेन डा.नवलकिशोर झाले बताए ।जिल्लामा सडक पुर्वाधार दिनप्रतिदिन निर्माण हुँदै गएकोले तिब्रगतिमा सवारी चलाउँदा गाडी सवारी दुर्घटना बढेको जानकारहरुको भनाई छ ।
ट्राफिक नियम विपरित सञ्चालित सवारी साधनहरुलाई कार्बाही गर्नुको सट्टा ट्राफिक प्रहरी कमिसनमा लिप्त हुने गरेको समेत जानकारहरुको भनाई छ ।प्रयोजना विपरित सञ्चालित र ट्राफिक नियम विपरित सञ्चालित सवारी साधनहरुलाई कार्बाही गर्नुको सट्टा ट्राफिक प्रहरी कमिसनमा लागेका कारण सर्लाहीमा दुर्घटना न्युनिकरण हुन नसकेको जानकारहरुको ठहर छ ।
जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरुले मनलाग्दी भाडा असुली रहेका,प्रयोजन विपरित सञ्चालन भई रहेका साथै भारवाहन क्षमता भन्दा बढी भारवाहन हुँदा पनि सर्लाही ट्राफिक प्रहरी तिनिहरुलाई कार्बाही गर्नुको सट्टा कमिसनमा लिप्त हुने गरेको पाइएको छ ।
जिल्लाकाे लालबन्दी तथा हरिवन बजारबाट खसी बाख्रा बाेेकेर हिडेका यात्रु वाहक बसहरुका साथै अन्य सवारीसाधन जाे प्रयाेजन विपरीत सञ्चालित रहेका पाएपछि स्थानीयले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीलाई जानकारी गराउँदा समेत कुनै कार्बाही नभए पछि ट्राफिक प्रहरी कमिसनमा लागेकाे पाईएकाे स्थानीयले बताएका छन् ।
यता,जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक मदन थापालाई साे विषयमा जिज्ञासा राख्दा उनले मधेश प्रदेश मै सबैभन्दा धेरै सवारीसाधनहरुलाई कार्वाही गर्ने र सबैभन्दा धेरै राजश्व संकलन गर्ने काम सर्लाही ट्राफिकले गरेकाे बताए ।उनले कमिसन असुली भन्ने विषयमा कुनै प्रमाण भए पेश गर्न र प्रमाणित भए संग्लग्न ट्राफिक प्रहरी कर्माचारीहरुलाई कार्बाही गरिने समेत बताए ।