सर्लाहीको पर्सा गाउँपालिका २ स्थित संग्रामपुरबाट भारतीय बालक अपहरण गरेको आरोपमा भारतकै एक युवकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।पर्सा गाउँपालिका २ संग्रामपुर स्थित सडक खण्डमा कुरकुरे किन्न आएका एक बालकलाई ललाईफकाई हात समातेर डोर्याउँदै लैजादै गरेको अवस्थामा बुधबार दिउँसो करिब २ बजे एक भारतिय युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार भारतको बिहार राज्य सितामढी जिल्ला स्थित सोनवर्षा थानाको जानकीनगर ग्रामपञ्चायत १ दरवार लालवनी निवासी धिरेन्द्र रामका अन्दाजी ४ वर्षीय छोरा अंकित कुमारलाई अपहरण गर्दै गरेको अवस्थामा सितामढी जिल्ला अन्तगर्त बेला थाना स्थित बथुवारा ग्रामपञ्चायत १ निवासी अन्दाजी २७ वर्षीय सताबुल अन्सारीलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
उद्धार गरिएका नावालक अंकितलाई तत्कालै अभिभावकको जिम्मा लगाई नियन्त्रणमा लिईएका अन्सारीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।