मधेश प्रदेशका जनप्रतिनिधिहरूले आफूहरूको पाँच वर्षे कार्यकाल अख्तियारलाई जवाफ लेखेर बित्ने अवस्था बनेको गुनासो गरेका छन् ।अख्तियारको कारबाहीको भयले मधेश प्रदेशको स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत जानै नमान्ने भएपछि विकासका काम अघि बढ्न नसकेको समेत मधेश प्रदेशका जनप्रतिनिधिहरुले गुनासो गरे ।
यही परिस्थिति रहेमा मधेश प्रदेशका जनप्रतिनिधिहरुले विकासका कुनै पनि काम गर्न नसक्ने अवस्था आउने जनप्रतिनिधिहरुले बताए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अधिकारीहरुसँग बर्दिवासमा भएको छलफलमा मधेश प्रदेशका स्थानीय तहका नगर प्रमुख÷उप प्रमुख र गाउँपालिका अध्यक्ष÷उपाध्यक्षसहितका करिब सय जना भन्दा बढी सहभागी जनप्रतिनिधिहरुले एउटै स्वरमा यस्तो पीडा र आक्रोस पोखेका हुन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम(पीएलजीएसपीको समन्वयमा गाउँपालिका राष्ट्रिय महासंघले आयोजना गरेको छलफलमा अख्तियारको प्रस्तुति सुनेर मधेश प्रदेशका जनप्रतिनिधिहरुले एकै स्वरमा“कामै नगरेको योजनाको विषयमा समेत परेको उजुरी जवाफ लेखेर हैरान भइएको बताएका हुन।”उनीहरूले अख्तियारका कारण झमेलामा परिने भयले प्रमुख प्रशासकीय अधिकृतहरुले निर्णयमा कलम चोप्न छाडेको गुनासो समेत गरे ।
संघ सरकारले प्रमुख प्रशासकीय अधिकृत नपाएपछि आयुर्वेदकको कर्मचारीले चलाएको पालिकामा प्राविधिक त्रुटी हुनु स्वभाविक भएको विष्णु गाउँपालिका सर्लाहीका अध्यक्ष जवाहरलाल यादवले बताए ।गाउँपालिका राष्ट्रिय महासंघ मधेश प्रदेशका अध्यक्षसमेत रहेका यादवले प्रमाणित नहुने उजुरीको जवाफ लेख्दा लेख्दै जनप्रतिनिधिहरुले आफ्नो कार्यकाल पूरा गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए ।अख्तियारले पत्र लेखेका कारण करोडौं रुपैंयाँ लगानी गरेर निर्माण भइरहेको धेरै काम अलपत्र परेको उनले बताए ।
योजना सञ्चालन नै नभई अख्तियारको पत्र आउने गरेको उदाहरण दिँदै यस्तो अवस्थामा कसरी काम गर्ने भन्दै बारागढी गाउँपालिका बाराका अध्यक्ष अशोककुमार जयसवालले आक्रोस व्यक्त गरे ।उनले आफ्नो कार्यालयले टेण्डर गरेर फर्निचर खरिदको निर्णय गरेको तर सामान आइनपुग्दै उजुरी परेको बताए ।
“ठेकेदारले सामान ल्याएकै छैन,तर त्यही भ्रष्टाचार भएको उजुरीका आधारमा अख्तियारको पत्र आइसकेको छ”उनले भने । पालिकाका जनप्रतिनिधिहरुले संघीय मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खोज्न आफैंलाई आह्राउने गरेको भन्दै कर्मचारीको अभावमा कार्यसम्पादन गर्न कठिन भएको समेत बताए।विशेषतःमधेश प्रदेशमा धेरै पालिकाको प्रमुख प्रशासकीय अधिकृत निमित्त रहेका छन् ।नयाँ आउने प्रमुख प्रशासकीय अधिकृतले पनि बरु सरुवा भएर जाने तर निर्णयमा हस्ताक्षर नगर्ने प्रवृत्ति बढेको पालिका प्रमुखहरुको गुनासो छ ।
अख्तियार कार्यालयले आफ्नो कार्य क्षेत्रको मधेश प्रदेशको सर्लाही,महोत्तरी,धनुषा,सिरहा सहित बागमती प्रदेशको सिन्धुली र रामेछाप तथा कोशी प्रदेशको सोलुखुम्बु,ओखलढुंगा र खोटाङ गरी नौ जिल्लाका स्थानीय तहको उजुरीको विवरण प्रस्तुत गरेको थियो ।
अख्तियारले उल्लेखित जिल्लाको स्थानीय तहहरुको दुई हजार ७२ वटा उजुरी परेकोमा एक हजार ३२ वटा फास्र्यौट भएको जानकारी गराएको थियो ।बाँकी एक हजार ४० वटा उजुरीमाथि अनुुसन्धान भइरहेको र सबैभन्दा धेरै मधेश प्रदेशका चार जिल्लाको उजुरी अधिक रहेको जानकारी अख्तियारका अधिकृत विकासकुमार मिश्रले गराए ।मधेश प्रदेशमा मात्रै नगरपालिका र गाउँपालिका गरी उक सय ३६ वटा स्थानीय तहहरु छन्।अधिकांश जनप्रतिनिधिहरुले बेनामी उजुरीका कारण आफूहरुको बदनामी भएको,विकास निर्माण रोकिएको र कर्मचारीलाई कामै लगाउन नसकिने अवस्था बनेको धारणा अघि सारे ।
जनप्रतिनिधिहरुले अख्तियारको चिठ्ठी आतंकले सीमा नाघेको भन्दै बेनामी उजुरीका आधारमा पालिकालाई आएको पत्रको जवाफ लेख्नै लागि एक जना कर्मचारी खटाउनुपर्ने अवस्था वनेको बताएका छन्।कार्यक्रममा अख्तियार दुरुपयोग बर्दिवास कार्यालयका अधिकारीहरुले मधेशका स्थानीय तहहरुको उजुरी धेरै संख्यामा परेको जानकारी गराएपछि जनप्रतिनिधिहरुले बेनामी उजुरीको भरमा कारबाही अघि बढाउँदा वर्षौंदेखिका अरबौंका विकास योजना अलपत्र परेको तथ्यांक पेस गरेका छन्।
पालिकामा पशु,स्वास्थ्य र कृषि क्षेत्रका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम चलाउने गरेको दुखेसो समेत पोखेका छन्।काम चालाउ कर्मचारीहरुले गरेको योजना र कार्यक्रमहरु कहिँ न कहिँ त्रुटी हुनसक्ने तर्क उनीहरुको छ ।अख्तियारलाई पालिकै पिच्छे कार्यालय स्थापना गरेर जनप्रतिनिधिले के गर्ने ? के नगर्ने ? तोक्न अग्निसाइर कृष्णासवर गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरीले आग्रह गरिन् ।उनले अख्तियारले तोकेको विकास मात्र आफूले ढुक्क भएर गर्ने बताइन् ।जयसवाल र चौधरी मात्र होइन सबैजसो सहभागीहरु अख्तियारका कर्मचारीमाथि खनिएका थिए ।
नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवले अख्तियारको तनावका कारण सवैको गाली खानुपरेको बताए।जनताको कुरा सुन्ने नजिकको स्थानीय सरकार नै पालिका भएपनि अधिकारको अभाव र निर्णय प्रक्रियामा लगाव लगाएका कारण आफूहरु निरीह भएको उनले गुनासो पोखे।अख्तियारको पत्र आएपछि सबैजस्तो स्थानीय तहमा करोडौंका योजना अघि बढ्न नसकेको भन्दै उनले बेनामी उजुरी नलिन अख्तियरलाई आग्रह गरे ।
अख्तियारको अधिकारीहरुले भने ऐनमा बेनामी उजुरीको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गर्नु आफूहरुको कर्तव्य भएको बताए।बेनामी उजुरीमाथि छानबिन नगर्न कानुन नै परिवर्तन गर्नुपर्ने बाध्यता रहेको अख्तियारको भनाई रहेको छ ।गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सिंहदरबारका सिंहहरुले पनि स्थानीय तहका भ्रष्टाचारको चाङ देखाउने गरेको बताइन्।स्थानीय तह जनताको नजिकको सरकार भएको बताउँदै यसलाई बदनाम गराएर संघीयता बलियो नहुने उनले बताइन् ।
अख्तियारका अनुसार स्थानीय तहले सार्वजनिक खरिद टुक्र्याएर टेण्डर गरेको,गलत मनसाय राखेर निश्चित व्यक्तिलाई फाइदा हुनेगरी “स्पेसिफिकेशन”बनाउने गरेको,आवश्यक भन्दा धेरै सामाग्री खरिद गरेको,जिन्सी दाखिला नगरी खदिर गरेको मात्र देखाएको,गुणस्तरहिन निर्माण संरचना बनाएको,डिपीआर बनाएर थन्क्याउने गरेको जस्ता शीर्षकहरु धेरै उजुरी दर्ता भएको अख्तियारले जानकारी दिएको छ ।
अख्तियार बर्दिवास कार्यालयलको विवरणमा पालिकाले कर्मचारीको नियुक्तिमा मिलेमतो गरेको, अनावश्यक रुपमा तालिम शीर्षकमा रकम खर्च गरेर भत्ता मात्र बाँडेको,सार्वनिक जग्गा अतिक्रमण गरेको,शिक्षक नियुक्तिमा नक्कली लाइसेन्स प्रयोग गरेको,एउटाले गरेको कामको बील धेरैै जनाले बनाएर भुक्तानी लिने गरेकोलगायतका विषयमा बढी उजुरी परेको उल्लेख छ ।
गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलका अनुसार स्थानीय तहमा देखिएका बेरुजु,वित्त हस्तान्तरण,लेखा प्रणालीलगायतका शीर्षकमा उठेका प्रश्नहरुको समाधान खोज्न संवैधानिक निकाय,आयोग र सरकारी संयन्त्रबीच आपसी छलफल गराइएको हो ।
अख्तियार,प्राकृतिक स्रोत तथा वित्त आयोग,महालेखा परीक्षक,महालेखा नियन्त्रकको कार्यालयलसँग स्थानीय तहका जनप्रतिनिधि र सम्बन्धित क्षेत्रका विज्ञहरुबीच विराटनगर,जनकपुर र बर्दिवासमा छुट्टाछुट्टै कार्यक्रममार्फत संवैधानिक आयोगहरुसँग छलफल गरिएको हो ।अर्थ मन्त्रालयले अन्तर सरकारी वित्त व्यवस्थापन सम्बन्धि ऐन २०७४ परिर्वनको गर्ने तयारी गरेकाले त्यसका लागि सुझाव संकलन गरिएको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले वित्त व्यवस्थापन कानुन पालिकाहरुमा रकम पठाउन बाधक बनेको भन्दै सुधारका लागि सुझाव संकलन गरिएको छ।संविधानमा राजस्व बाँडफाँड र समानीकरण अनुदान बढाउँदै लैजानुपर्ने विषयमा प्रष्ट व्यवस्था गरेपनि ऐन बनाएर स्थानीय तहलाई पठाउने रकम परिणाम खुम्च्याएको जनप्रतिनिधिको गुनासो रहेको छ।महासंघकी अध्यक्ष पाण्डेले संविधानले व्यवस्था गरेबमोजिम स्थानीय तहले विविध शीर्षकमा पाउने अनुदान रकम बढाउनुपर्ने माग गरिन्।उनले संघ सरकारले स्थानीय तहलाई काम हस्तान्तरण गरेपनि बजेट पठाउन भने कानुन नै बनाएर रोकेको बताइन् ।