सर्लाहीको गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योग बगदह करिब साँढे १२ लाख क्विन्टल उखु क्रसिङ गरेर बन्द भएको छ ।महालक्ष्मीले यस वर्ष १२ लाख ३९ हजार क्विन्टल उखु क्रसिङ गरेर उद्योग बन्द भएको उद्योगका उखु प्रवन्धक पवन सिंहले जानकारी दिए ।
“उखु अभाव भएपछि उद्योग बन्द गरिसकेका छौं,”उखु प्रवन्धक सिंहले बताए ।जिल्लामा रहेका तीन वटा चिनी मिलहरु मध्य निकै ढिलो गरी फागुन पहिलो साताबाट मात्रै संचालनमा आएको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग पनि किसानहरुले उखु ल्याउँदा संचालन गर्ने र उखु नहुँदा बन्द हुने गरेको छ ।
हरिवनस्थित रहेको इन्दु शंकर चिनी उद्योग पनि “नो क्यान”मा संचालन भइरहेको छ ।जिल्ला किसानहरुले उद्योगमा उखु ल्याउन छाडेपछि यस्तो अवस्था आएको इन्दु शंकर चिनी उद्योगमा उखु प्रवन्धक योग नारायण रजकले बताए । उनका अनुसार करिब एक सातादेखि उद्योगमा “नो क्यान”सुरु भएको छ ।“विगत करिब एक सातादेखि उद्योगलाई चाहिएजति उखु आउन छाडेकाले “नो क्यान”मा उद्योग सञ्चालन भई रहेको छ,”उखु प्रवन्धक रजकले बताए ।
“हाम्रो मिल निकै ढिलो गरी संचालन भयो त्यसैले पर्याप्त उखु पाएनौँ,”अन्नपूर्ण चिनी उद्योगका संचालक शैलेन्द्र गुप्ताले बताए ।“जे जति उखु आउँछ,त्यो सबै पेलि सकेर केही दिन भित्रैमा उद्योग बन्द गर्छौं ।”उनले भने,यो वर्ष किसानहरुले उद्योगमा उखु ल्याएको एकसाता देखि १५ दिनभित्रमै सबै भुक्तानी दिइरहेको जिल्लामा रहेका तीनवटै चिनी उद्योगहरुले दावी गरेका छन् ।
पछिल्लो समय जिल्लाका उखु उत्पादक किसानहरुले उखु खेती कम लगाउन थालेका कारण उद्योगहरुले चाहेजती उखु पाउन नसकेका नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।उनका अनुसार उद्योगलाई उखु बेचेको लामो समय सम्मपनि भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानहरुले उखु खेती कम गर्दै लगेका कारण उद्योगहरुले राखेको लक्ष्य अनुसार उखु नपाएका हुन ।
जिल्लाका महालक्ष्मी र अन्नपुर्णले उखु उत्पादक किसानहरुलाई समयमै भुक्तानी नदिँदा हैरान भएका जिल्लाका उखु उत्पादक किसानहरुले उखु खेतीको विकल्प खोज्न थाल्दा त्यसको प्रत्यक्ष मार इन्दु शंकर चिनी उद्योगलाई परेको जानकारहरु बताउँछन् ।देशभरीकै चिनी उद्योगहरुको तुलनामा उखु उत्पादक किसानहरुलाई समयमै भुक्तानी दिएर राम्रो छवी बनाएको इन्दु शंकर चिनी उद्योग पनि लक्ष्य अनुसार उखु क्रसिङ गर्न सक्ने अवस्थामा छैन् ।