निजी क्षेत्रको लगानीमा भरत तालमा सुविधा थप हुँदै,ताल निर्माणमा बजेट अभाव भएको गुनासो

236 Shares

सर्लाहीको बागमती नगरपालिकाले निर्माण गरेको दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित बागमती माछा पोखरी(भरत ताल)मा निजी क्षेत्रहरूको लगानीमा सेवा सुविधाहरू थप गरिएको छ ।बागमती नगरपालिका ४ र १२ स्थित बुढी बागमतीको किनारमा खेर गएको बाँझो जमिनमा एक सय २० बिघा क्षेत्रफलमा दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित बागमती माछा पोखरी(भरत ताल) निर्माण सुरु भएसंगै आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो बढेपछि निजी क्षेत्रहरूको लगानीमा सेवा सुविधाहरू थप गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।t1.jpg
 उनका अनुसार करिब दुई वर्षअघि तालमा बोटिङको मात्रै सुविधा रहेकोमा अहिले जिप लाइन,वाटर साइकल,स्काइ साइकलिङ,उँट र घोडामा चढेर तालको वरपर अवलोकन गर्ने र वृद्धवृद्धाहरूका तथा बालबालिकाहरूलाई मिनी रेल,सर्वसाधारणहरूका लागि फोटो खिच्न र भिडियो बनाउन क्यामरामेनको समेत व्यवस्था गरिएको हो । t2.jpg
वागमती नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा चालु आर्थिक वर्ष २०८०/०८१ देखि पर्यटकहरूका लागि एक दर्जनभन्दा धेरै सुविधाहरू थप गरेको वागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिइन् ।उनका अनुसार नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा एक दर्जनभन्दा धेरै सुविधाहरू थप गरेपछि दैनिक हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू ताल घुम्न आउने गरेका छन् ।t3.jpg
“बोटसँगै तालमा स्काई साइकलिङ,वाटर बाइक,उँट,घोडा चढेर घुम्न सक्ने सुविधा थप भएपछि झनै रमाइलो भएको” ताल घुम्न नेपालगञ्जबाट आएका शंकर लामिछानेले बताए ।उनले “आफुले पोखराको फेवा ताल घुमेको भएपनि भरत तालमा घुम्दा फेवा तालको मज्जा पाएको समेत बताए ।”“विगतको तुलनामा भरत तालमा धेरै सुविधा थपिएको रहेछ पहिला आउँदा बोट मात्रै थियो ।”ताल घुम्न काठमाण्डौँबाट आएका अर्का आन्तरीक पर्यटक यतिराज अधिकारीले बताए ।“ताल निर्माण सुरु हुँदा देखि नै मधेशको बाटो पर्दा आफु एक पटक भएपनि भरत ताल घुमेर जाने गरेकोमा यस पटक धेरै सुविधाहरू थपिए छ, झनै रमाइलो भयो ।”उनले थपे ।t4.jpg
वरपरको भूभागसहित भरत ताल एक सय २१ बिघा क्षेत्रफलमा निर्माणाधिन अवस्थामा रहेको  छ ।नेपाली तथा अंग्रे्रेजी नयाँ वर्ष,शनिवार तथा सार्वजनिक बिदाको दिन यहाँ पर्यटकहरूको भिड लाग्ने बागमती इन्टरटेनमेन प्रा.लिका गौमत खड्काले बताए ।
उनले नगरपालिकासँग सम्झौता गरेर ८० प्रतिशत रकम कम्पनी र २० प्रतिशत रकम नगरपालिकाको खातामा जम्मा हुने गरी टिकट बिक्री भइरहेको समेत बताए ।तालमा बोटिङ चढ्दा ठुलो जहाजमा रु पाँच सय सानो डुङ्गामा रु तीन सय शुल्क लाग्ने गर्दछ ।भरत तालमा पाँच वटा घोडा र एउटा उँट,एउटा अजिङ्गर र एउटा मिनी रेल पनि सञ्चालनमा छ जसमा पर्यटकहरू चढेर घुम्ने,फोटो खिच्ने,हेर्ने र भिडियो बनाउने गर्दछन् । t6.jpg
उँट चढ्न बालबालिकाको लागि रु ५० र ठुलो व्यक्तिको लागि रु सय शुल्क लाग्ने पर्यटकहरूका लागि उँट सञ्चालन गर्दै आएका राम लक्ष्मण साहले बताए । उनले  शनिबार र बिदाको दिन थेग्नै नसक्ने गरी भिड लाग्ने गरेको बताए । पर्यटकहरूका लागि सञ्चालनमा रहेको रेलमा भने एक पटकमा १६ जनासम्म चढ्न मिल्छ । जसका लागि प्रतिव्यक्ति रु एक सय शुल्क लाग्छ प्रतिव्यक्ति टिकटमा २० प्रतिशत रकम नगरपालिकालाई बुझाउने गरेको ।रेलको टिकट काट्दै आएका वागमती नगरपालिकाका कर्मचारी प्रेमबहादुर विश्वकर्माले बताए ।“सय रुपैयाँमा २० रुपैयाँ नगरपालिकालाई दिनुपर्छ ८० रुपैयाँ हामीलाई हुन्छ,”उनले भने ।भरत तालमा वागमती नगरपालिकाले टिकट काट्नकै लागि करिब ३० जना कर्मचारी खटाएको छ । 
दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित भरत ताल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि मुख्य आकर्षण केन्द्र मात्रै बनेको छैन् ।नगरपालिका भित्रका वेरोजगार युवाहरुले रोजगारी पाएका छन् भने बरत ताल नगरपालिकाको दिर्घकालीन आन्तरिक आय स्रोतको केन्द्र बनेको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले बताए ।चालु आर्थिक वर्षको ६ महिनामा नगरपालिकाले बोटिङबाट मात्रै करिब रु एक करोड राजस्व संकलन गरेको छ भने सवारी साधन पार्किङ शुल्क बापत करिब रु ५० लाख राजस्व संकलन गरेको वागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए ।
“अहिले हाम्रो नगरपालिकाको राजस्व संलनको मुख्य श्रोत भनेकै भरत ताल हो,निजी क्षेत्रसँगको सहकार्यमा हामीले अहिले धेरै सेवा सुविधाहरू थप गरेका छौँ,”प्रमुख प्रशासकीय अधिकृत पुरीले भने “अब हाम्रो योजना पिकनिक स्थल,जंगबहादुर राणाको परिचय खुल्ने जंगे पार्क, चिडियाखाना,मिनि नेपाल,शिव पार्वतीको मुर्तीका साथै नेपालका सातै प्रदेशका साँस्कृति झल्कने पहिचानहरु बनाउने योजना छ।यसका लागि बजेट अभावले अलि समस्या भएको छ।”प्रमुख प्रशासकीय अघिकृत पुरीले बताए । भरत ताल सर्लाही र रौतहटको सिमाना पूर्वपश्चिम राजमार्गबाट करिब तीन किलोमिटर दक्षिण पर्ने भरत तालले मधेस प्रदेशकै पर्यटन प्रवद्र्धधनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।
पछिल्लो समय भारतको विहार र देशभरबाट पर्यटकहरूको ओइरो लागेको उनले दाबी गरे । भरत ताल निर्माणाधिन अवस्था मै यस वरपरका बस्तीहरुमा खानेपानीको समेत समस्या आफैँ समाधान भएको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।ताल निर्माण सुरु हुनु पुर्व हिउँदको समयमा यस क्षेत्रका कलहरुमा पानी नआउँदा स्थानीलाई समस्या हुने गरेको थियो भने ताल निर्माण सुरु भएपछि अहिले सबै कलहरुमा पानी आई रहेको छ ।
“अर्बौँको प्रोजेक्टको रूपमा विकास भइसकेको ताललाई नगरपालिका एक्लैको लगानीमा भन्दा पनि निजी क्षेत्र र संघीय सरकारको साझेदारी लागतमा काम गर्ने गरी हामीले कानुन बनाएर दाताहरू खोजिरहेका छोैँ ।”प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।बागमती नगरपालिकाले दर्जनौँ नगर गौरबका योजनाहरु मध्य ताल सबै भन्दा ठूलो प्रोजेक्ट हो ।

सम्बन्धित समाचार