Close This

सर्लाहीमै पिसिआर मेसिन राख्ने नेकपाको तयारी

रासस    प्रकाशित: २०७७-२-२४ गते   ३५० पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले जिल्लामै पीसीआर मेसिन राख्न पहल गर्ने भएको छ ।  लालबन्दीमा बसेको नेकपा जिल्ला कमिटी बैठकले लालबन्दी वा बरहथवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पीसीआर मेसिन राख्न पहल गर्ने निर्णय गरेको जनाएको छ । त्यसमा लागि पहिलो चरणमा केन्द्र र प्रदेश सरकारसँग माग गर्ने र ती दुवै तहका सरकारबाट उपलब्ध नभए जिल्लाका नेकपाको सरकार रहेका ७ वटा स्थानिय निकाय मिलेर पििसआर मेसिन खरिद गर्ने निर्णय भएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो ।
मेसिन खरिद गर्नु परे पार्टीको जिल्ला कमिटी र पार्टी निकट सर्लाही–काठमाण्डौं सम्पर्क मञ्चको पनि संलग्नता रहने छ । जिल्लामा स्वाब संकलन गरेर पठाउँदा धेरै दिन लागेको, जसले गर्दा संक्रमण नरहेकाहरु समेत शंकास्पद संक्रमितसँगै बस्नु परेको जस्ता बाध्यताले स्थानीय स्तरमै स्वाब परीक्षण गर्न पीसीआर मेसिन राख्ने सोँच बनाइएको नेकपाका नेताहरुले बताएका छन् ।
नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षतामा बसेको बैठकमा यहाँ उपलब्ध केन्द्रीय एवं प्रदेश कमिटीका सदस्य, सांसद, नेकपाबाट निर्वाचित प्रमुख उप प्रमुख,जिल्ला कमिटी सदस्य लगायत सहभागी रहेका थिए । सर्लाहीमा लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, ईश्वरपुर र चक्रघट्टामा नेकपाको सरकार रहेको छ ।
बैठकले स्थानीय तहमा कृषिजन्य उद्योग खोलेर रोजगारी सिर्जना गर्ने, चुरेको संरक्षण गर्ने, विद्यालयको भौतिक पूर्वाधार सुधार गरी जनशक्ति सिर्जना गर्ने, सातै दिन बैंक तथा वित्तीय संस्था खोल्ने, मलखादको आपूर्ति सहज बनाउन पहल गर्ने लगायतका निर्णय गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech