सर्लाहीका आठ लाख बढीलाई हात्तीपाइ रोग विरुद्धको औषधी खुवाईने

191 Shares

सर्लाहीमा यस वर्ष आठ लाख भन्दा बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईने भएको छ ।जिल्लाका २० वटा स्थानीय तहका आठ लाख २४ हजार छ सय ७१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवलकिशोर झाले जानकारी दिए ।उनका अनुसार वैशाख १६ गतेदेखि २९ गतेसम्म हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान जिल्लाभर नै संचालन गर्न लागिएको हो ।
आज(बिहिवार)हात्तीपाइले रोगको औषधी सेवन अभियानको अन्तरक्रियामा सो जानकारी गराईएको हो ।हात्तीपाइले रोग विरुद्धको औषधी दुई वर्ष उमेर नपुगेका बालबालिका,गर्भवती र सात दिनसम्मका सुत्केरी,छारे रोगको समस्या भएका व्यक्ति,सिकिस्त बिरामी,अस्पताल भर्ना भएका बिरामी र जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीका साथै मिर्गौला रोगको लागि डायलाइसिस गरिरहेका बिरामीले सेवन गर्न नहुने लालबन्दी नगरपालिकाको नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले बताए ।
उनका अनुसार गाउँ,बस्तीमा एक व्यक्तिले औषधि नखाइदिँदा अन्य व्यक्तिमा संक्रमित लामखुट्टेको टोकाईबाट हात्तीपाइले सार्ने जोखिम हुने भएकाले आफू र आफ्ना छरछिमेकी सबैलाई औषधी खान प्रोत्साहन गर्नुपर्ने बताए । हात्तीपाइले विरुद्धको औषधी खाएपछि केही व्यक्तिमा ज्वरो आउने,वान्ता हुने,रिंगटा लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत सुशील कुमार झाले बताए ।
उनका अनुसार हात्तीपाइले रोग विरुद्ध आइभरमेक्टिन,डाइइथाइल कार्वामाजिन र अल्बेन्डाजोल गरी तीन प्रकारका औषधी प्रयोग हुने स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।अभियानका लागि जिल्लाभर पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय ५६ महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार