लामो समयदेखि पानी नपर्दा चैते धान सुक्न थालेपछि सर्लाहीका किसानहरु चिन्तित बनेका छन् ।चैते धान रोपेदेखि पानी नपर्दा खेतमा धाजा फाट्न थालेको छ ।यो वर्ष जिल्लामा चैते धान खेती विस्तार भएको अवस्थामा सुरुमै खडेरीले प्रभाव पारेको जिल्लाका किसानहरुले गुनासो गरेका छन् ।यो वर्ष दोब्बर बढी क्षेत्रफलमा चैते धान रोपिएकोमा आकाशे वर्षा नहुँदा बाली प्रभावित बनेको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार लामो समयदेखि खडेरी परी वर्षा नहुँदा पानीको लेयर नै कम भएर स्यालो ट्यूबेलमा समेत पानी आउन छाडेकाले चैते धानलाई सिँचाईको समस्या भएको हो ।
“यो वर्ष हाम्रो पालिकाभित्र चैते धानको खेती दोब्बर बढीले विस्तार भएको थियो तर सुरुमै वर्षाले साथ दिएन,” लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले बताए ।उनका अनुसार “पानीको लेयर नै दिनानु दिन झनझन तल जाँदा स्यालो ट्यूबेलमा पनि पानी आउन छाडेको छ ।” यो वर्ष लालबन्दी नगरपालिकाभित्र करिव तीन सय हेक्टर जग्गामा चैते धान खेती भएको लालबन्दी नगरपालिकाको कृषि शाखाले जनाएको छ।लालबन्दी नगरपालिका ३ को जब्दी र लालबन्दी नगरपालिका ४ को हरिभवन क्षेत्रमा चैते धानको बढी खेती हुने गरेको छ ।सिँचाईको सुविधा भएको ठाउँमा मात्रै चैते धान खेती हुने गरेको तर आकाशे वर्षा नै नभएर पानीको लेयर तल जाँदा समस्या परेको जिल्लाका किसानहरुको गुनासो छ ।
चक्रघट्टा गाउँपालिकाभित्र गत वर्षदेखि चैते धान खेती सुरु भएको चक्रघट्टा गाउँपालिकाको कृषि शाखाका प्रमुख रामईश्वर राय यादवले बताए ।“चक्रघट्टामा गत वर्षदेखि किसानहरुले चैते धान खेती गर्न थालेका छन्,अहिले करिव १५ हेक्टर जग्गामा चैते धान लगाइएको छ,” कृषि शाखाका प्रमुख यादवले बताए ।“अहिलेसम्म त डिप बोरिङबाट पानी आइरहेको छ तर अझै खडेरी लम्बियो भने हाम्रोतिर पनि सिँचाईको समस्या पर्ने देखिन्छ ।”
वर्षा भएको भए चैते धान यतिबेला हरियो फिरियो भई सक्थ्यो तर पानी नपर्दा अधिकांश खेतमा धाजा फाटेर बाली नै सुक्न थालेको छ ।चैते धानबाट राम्रो आर्जन भएपछि जिल्लाका धेरै किसानहरुले यो वर्षदेखि चैते धान लगाउन थालेकोमा यो वर्ष नै लामो खरेडी परि वर्षाले साथ नदिँदा जिल्लाका किसानहरु चिन्तित भएका छन् ।